भारतको कोलकातामा ३३ किलो सुनसहित दुई नेपाली पक्राउ, गोरेको सुन भएको आशंका

सफल खबर संवाददाता

शनिबार, २९ मंसिर २०७५, १२ : २४
भारतको कोलकातामा ३३ किलो सुनसहित दुई नेपाली पक्राउ, गोरेको सुन भएको आशंका

काठमाडौं । भारतको कोलकातामा ३३ किलो सुनसहित दुई नेपाली पक्राउ परेका छन् । गएको शुक्रबार (डिसेम्बर ७) दिउँसो कलकत्ता प्रहरीले हेमप्रसाद शर्मा र राकेश प्रसादको साथबाट ३३ किलो सुन बरामद गरेको सूचना नेपालको सरकारी संयन्त्रले पाएको छ । उनीहरुलाई मारुती स्विफ्ट कारमा ओसार्दै गरेको अवस्थामा कलकत्ता दिल्ली राजमार्गबाट भारतीय राजस्व अनुसन्धान बिभागले कब्जामा लिएको हो । 

सुन तस्कर चुडामणि उप्रेती ‘गोरे’को समूहले गत माघमा त्रिभुवन अन्तरष्ट्रिय विमानस्थलबाट पास गराएपछि  हराएको भनिएको ३३ किलो सुन भारतको कलकत्तामा फेला परेको हुन आशंका  उब्जिएको छ । 

दुईजना नेपाली नागरिकबाट ३३ किलो सुन भारतमा भेटिएको पुष्टि गर्दै तत्कालिन सुन तस्करी छानविन समितिका संयोजक सह–सचिव ईश्वरराज पौडेलले भने, ‘सुन भेटिएको भन्ने आएको छ, धरान–इटहरीका बासिन्दाबाट नै उक्त सुन बरामद भएको सूचना आएको हुनाले उक्त सुन हामीले अनुसन्धान गरेको ३३ किलो हो भन्ने बुझिएको छ ।’ उक्त सुन ‘गोरे’ समूहको हो या होइन भन्नेबारे भेरिफाई गर्ने काम भइरहेको सह–सचिव पौडेलले बताए । 

उर्लाबारीका चुडामणि उप्रेती ‘गोरे’ को नेतृत्वमा सन् २०१५ देखि यता पटकपटक गरी करिब ३८ क्वीटल अर्थात ३७ लाख ९९ हजार ५ सय ५९ ग्राम सुनको अवैध कारोबार गरेको सुन समितिको दाबी थियो ।

जिल्ला अदालत, मोरङमा दायर भएको मुद्दामा १७ अर्ब १ करोड ८० लाख ७१ हजार ४ सय ३० रुपैयाँ ९० पैसा बराबरको विगो दाबी गरिएको थियो । तर, हराएको भनिएको सुन बरामद नभएपछि मुद्दा कमजोर बनाइएको आरोप लाग्दै आएको थियो ।

प्रतिक्रिया दिनुहोस