नेपाल आएपछि श्रृंखलाले भनिन्, सबैको मन जितेर आएँ

सफल खबर संवाददाता

विहीबार, २७ मंसिर २०७५, १५ : ०७
नेपाल आएपछि श्रृंखलाले भनिन्, सबैको मन जितेर आएँ

काठमाडौं । मिस नेपाल श्रृंखला खतिवडा स्वदेश फर्किएकी छन् । उनले ताज जित्न नसके पनि सबैको मन जितेर आएको बताइन् । स्वदेश फर्किने क्रममा बुधबार राति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले नेपाललाई आफूले विश्वमा चिनाउन सफल भएको बताइन् ।

श्रृङ्खलाले ब्युटी विद् प्रपोज र मल्टिमिडिया अवार्ड गरी दुईवटा अवार्ड हात पारिन् । आफूलाई ब्यूटी विथ द प्रपोज अवार्डप्रति सुरुदेखि झुकाव भएको भन्दै उनले यो अवार्ड जित्दा मिस वर्ल्ड नै जितेको जस्तो अनुभूति भएको बताइन् । यस्तै सम्पूर्ण नेपालीहरुको सहयोग र मायाले मल्टिमिडिया अवार्ड जितेको भन्दै उनले आभार व्यक्त गरिन् । मिस वर्ल्डमा नेपालको यो अहिलेसम्मकै सफल सहभागिता हो । कुनै पनि नेपाली सुन्दरीले दुई अवार्ड जित्न सकेका थिएनन् । 

‘सम्पूर्ण नेपालीहरुको यति धेरै माया र साथ पाएँ कि त्यसको अनुभूति शब्दमा वर्णन गर्न सक्दिनँ । मैले आशै नगरेको माया पाएँ । मेरो पक्षमा आएको भोटको लहरले अरु साथीहरु अचम्भित हून्थे । म एकदमै ऋणी छु,’ श्रृंखलाले भावुक बन्दै भनिन् ।

टप १२ मा पुग्ने आफूमा कन्फिडेन्स भएकोले त्यो सफलतामा खासै अचम्म नलागेको बताएकी उनले टप ५ अटाउने उद्देश्य पूरा हुन नसकेको बताइन् । यसपटक मिस वल्र्डको फम्र्याट पहिला भन्दा परिवर्तन भएको कारणले पनि आफूलाई असर परेको उनले बताइन् । उनले थपिन् ‘नेपालीहरुले मैले शीर्ष उपाधि जित्ने अपेक्षा गरेको थिए । तर सकिन । धेरै दुःखी छु ।’ 

उनले भनिन  ‘नेपालको बारेमा अरु देशका प्रतियोगीहरुलाई कम ज्ञान थियो । मैले माउन्ट एभरेस्टको कुरा गर्दा उहाँहरु सोध्नु हुन्थ्यो- तिमीले माउन्ट एभरेस्ट चढिसक्यौ ? अनि नेपालबाट हरेक प्रतिस्पर्धीहरुलाई लभ फ्रम नेपाल भन्दै म्यासेज जाँदो रहेछ । मलाई सोध्नुहुन्थ्यो, के नेपालमा अरबौं जनसंख्या छ ? के नेपाल इन्डियाभन्दा ठूलो छ ? नत्र कसरी यत्रो भोट पायौ ? मैले पाएको समर्थन उहाँहरुका लागि पनि आश्चर्यजनक थियो ।

प्रतिक्रिया दिनुहोस