प्रेमलाई विवाहमा परिणत गरे कपिल शर्माले

एजेन्सी

विहीबार, २७ मंसिर २०७५, १४ : ५७
प्रेमलाई विवाहमा परिणत गरे कपिल शर्माले

जालन्धर । चर्चित भारतीय कमेडियन कपिल शर्माले आफ्नी प्रमिका गिन्नी चतरथसँग शाही ढाँटका साथ पञ्जाबी परम्परामा विवाह गरेका छन् । यो विवाह गिन्नीको होमटाउन जालन्धरमा भएको हो । उनीहरु लामो समयदेखि प्रेममा थिए ।

गिन्नी कलेज पढ्दाको दिनदेखि नै कपिलकी साथी हुन् । दुवै स्टार वानको सिरियल हँस बलिएमा सँगै देखिएका थिए । कपिलको बिहेमा अनेकौं टीभी स्टार संलग्न रहे । बिहेमा सुमोना चक्रवर्ती, कृष्णा अभिषेक, राजीव ठाकुर, भारती सिंह, चन्दन प्रभाकर लगायतका कलाकार थिए । कपिलले जन्ती लिएर जालन्धर जाँदा प्रशंसकहरूको भीड थियो । सबैजना दुलाहालाई हेर्न उत्सुक थिए । भीड बढेपछि कपिलले सुरक्षा गार्डको सहयोग लिनुपरेको थियो ।

विवाहस्थललाई रातो र सेतो फूलले सजाइएको थियो । सामाजिक सञ्जालमा कपिलको बिहेको तस्वीर भाइरल भइरहेको छ । बिहेमा लोकनर्तकहरूलाई बोलाइएको थियो । कपिलले आफ्नो शहर अमृतसरमा शुक्रवार प्रीतिभोज दिँदैछन् । दोस्रो प्रीतिभोज उनले २४ डिसेम्बरमा मुम्बईमा दिनेछन् । त्यसमा उनले फिल्म र टीभी उद्योगका साथीहरूलाई बोलाएका छन् ।

केहि समयको विश्रामपछि कपिल आफ्नो चर्चित रियालिटी शो ‘द कपिल शर्मा शो’ मार्फत दर्शकमाझ आउँदैछन् । उनले शो सुरु गर्नु अगाडि बिहे गरेका हुन् । बिहेपछि नवविवाहित जोडीको तस्वीर सार्वजनिक भएको छ । कपिलले हरियो रंगको शेरवानी अनि क्रीम कलरको पगडी लगाएका छन् । उनको हातमा तरवार छ । गिन्नीले रातो रंगको लहंगा लगाएकी छिन् ।

प्रतिक्रिया दिनुहोस