एजेन्सी । चीनको एउटा अदालतले अमेरिकी स्मार्टफोन निर्माता एप्पलका केही मोडलका फोन चीनमा आयात र बिक्री गर्न प्रतिबन्ध लगाउन आदेश दिएको छ ।
अमेरिकी माइक्रो चिप निर्माता क्वालकमले एप्पलका केही फोनमा आफ्नो नाममा रहेको प्याटेन्ट चोरी गरेको आरोप लगाउँदै मुद्दा दायर गरको थियो ।
उक्त मुद्दामा सुनुवाइ गर्दै अदालतले सो आदेश दिएको सिएनएनले उल्लेख गरेको छ । अदालतको आदेश सोमबार सार्वजनिक भए पनि हप्ता दिनअघिदेखि नै यो लागू भइसकेको जनाइएको छ ।
एप्पलले आइफोन ६एस, ६एस प्लस, आइफोन ७, ७ प्लस, आइफोन ८, आइफोन ८ प्लस र आइफोन एक्समा पेटेन्ट उल्लंघन गरेको दाबी गर्दै क्वालकमले मुद्दा हालेको थियो । आइफोनका एक्सएस, एक्सएस प्लस र एक्सआर मोडलमा भने यो प्रतिबन्ध लागु हुने छैन । किनकी क्वालकमले मुद्दा हाल्दा यी फोन बजारमा आइसकेका थिएनन् ।
आइफोनमा फोटो एडिट र रिसाइज गर्नका लागि प्रयोग भएको प्रविधिको प्याटेन्ट आफूमा रहेको क्वालकमको दाबी छ। उसले टच स्क्रिनमा एपको म्यानेज गर्न अपनाइने प्रविधि पनि आफ्नै भएको दाबी गरेको छ ।
‘एप्पलले हाम्रे बौद्धिक सम्पत्ति प्रयोग गरेर निरन्तर फाइदा लिइरहेको छ तर उसले हामीलाई क्षतिपूर्ति दिन अस्वीकार गर्दै आएको छ,’ क्वालकमले भनेको छ ।
एप्पलले भने क्वालकमले फोहोरी खेल खेलेको बताएको छ । ‘जुन कम्पनीको गैरकानुनी अभ्यासमाथि संसारभरका नियामकले अनुसन्धान गरिरहेका छन् त्यसले हाम्रा सामानमाथि प्रतिबन्ध लगाउन गरेको प्रयास दिक्क लाग्दो चाल हो,’ एप्पलले भनेको छ ।
उसले आदेश पुनरावलोकन गर्नका आवेदन दिने बताएको छ । अमेरिका र चीनबीच व्यापार युद्ध थाँती राखेर वार्ता भइरहेका बेला चिनियाँ अदालतको यो आदेशलाई आश्चार्यका रूप हेरिएको सिएनएनले जनाएको छ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
मंगलबार, २५ मंसिर २०७५, १३ : ११
लेखकबाट थप