निर्मलाका हत्यारालाई पक्राउ गर्ने आँट छैन भन्दै महानिरीक्षक खनालकै अगाडि सांसदहरुले मागे राजीनामा

सफल खबर संवाददाता

सोमबार, २४ मंसिर २०७५, १४ : ४७
निर्मलाका हत्यारालाई पक्राउ गर्ने आँट छैन भन्दै महानिरीक्षक खनालकै अगाडि सांसदहरुले मागे राजीनामा

काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनालको  राजीनामा माग गरिएको छ । सोमबार संघीय संसदको दिगो विकास तथा सुशासन समितिले मुलुकको सुशासनको अवस्था कमजोर हुँदै गइरहेको अवस्थाबारे छलफल गर्न प्रहरी महानिरीक्षक खनाललाई बोलाएको थियो । त्यही कार्यक्रममा बोल्दै संघीय समाजवादी फोरम, नेपालकी सांसद प्रमिला कुमारीले निर्मला हत्याकाण्डका दोषीलाई अझै पक्राउ गर्न नसकेकोमा आपत्ति जनाउँदै प्रहरी महानिरीक्षक खनालको राजीनामा माग गरेकी हुन् ।

सांसद कुमारीले निर्मला हत्याकाण्डका दोषीलाई पक्राउ गर्ने आँट गर्न नसक्ने प्रहरी महानिरीक्षक खनाल पदमा रहिरहन नमिल्ने तर्क पनि गरिन् ।  उनले सो हत्याकाण्डको अनुसन्धानको नाममा निर्दोषलाई पक्राउ गरी यातना दिने काम अभिलम्ब बन्द गर्न पनि प्रहरी महानिरीक्षक खनालको गम्भिर ध्यानाकर्षण गराइन् । 

कार्यक्रममा सांसदहरुले शान्ति सुरक्षाको अवस्था किन यति कमजोर भयो ? विगतमा राम्रो सफलता पाएको प्रहरी अनुसन्धान किन फितलो भयो ? निर्मला पन्तको बलात्कारपछि हत्या गर्नेहरु किन पत्ता लागेनन् जस्ता प्रश्न गरे । 

कांग्रेस सांसद रमेशजंग रायमाझी निर्मला-नमिता हत्याकाण्डमा दरबारमा मान्छे जस्तै निर्मला हत्याकाण्डमा शक्तिशाली को छन् भनेर प्रश्न गरे । उनले भने, ‘शक्तिशाली मान्छेलाई जोगाउन सरकारले प्रहरी प्रमुखलाई प्रयोग गरेको हुनसक्छ । सीआईबीले पनि प्रहरी प्रमुखको इन्ट्रेस्टमा काम गर्छ ।’

तत्कालीन डीआईजी एवं वर्तमान सांसद नवराज सिलवालले राजनीतिक प्रभावमा आफू आईजीपी हुन नसकेको भनेको भन्दै रायमाझीले खनाललाई प्रश्न गरे, ‘तपाईंले पनि आईजीपी नै परिर्वतन हुन्छ भनेर घटना उजागर नगरेको हो कि ?

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसद दिनानाथ शर्माले अपराधिक घटनामा राजनीतिकरण वा राजनीतिक प्रभाव हुन नहुने बताए । निर्मला हत्यामा पनि त्यस्तो भएको भए प्रहरी संगठन दृढतापूर्वक अगाडि आउन आग्रह गरे ।

प्रहरी महानिरीक्षक खनालले निर्मला हत्याबारे अनुसन्धान भइरहेको र यो साँघुरिँदै गएको बताए । उनले घटनाको अनुसन्धानमा कुनै दबाव नरहेको बताए । घटनामा संलग्न भएका आशंका लागेकालाई पक्राउ गर्दै सोधपुछ गर्नु पर्ने भएकाले हत्यारा पत्ता लाग्न समय लागेको बताए ।

अनुसन्धानमा इलाका प्रहरी, जिल्ला, संघीय प्रहरी, प्रदेश लगायतका थुप्रै तह हुने भन्दै उनले भने, ‘मैले चाहेर पनि कसैलाई लुकाउन दबाव दिन सक्ने अवस्था हुँदैन । यदि दबाव दिएको भेट्टाउनुभयो संसदबाट मेरो बर्दी फुकालिदिनुस् ।’

आफू अपराध अनुसन्धान महाशाखा प्रमुख हुँदा बडीखेल घटनाका अभियुक्त १३ वर्षमा पक्राउ गरेको स्मरण गर्दै उनले भने, ‘कुनै कुनै घटनामा केही समय लाग्नसक्छ तर, हामीले अनुसन्धान नै नगरेको भन्ने होइन, काम भइरहेको छ ।’ तर, अभियुक्त पत्ता लाग्न कति समय लाग्छ भन्न नसक्ने बताए ।

प्रतिक्रिया दिनुहोस