‘नेपाली गुडिया’ मेनुका पौडेल सारेगमपको शीर्ष ११ मा

सफल खबर संवाददाता

सोमबार, १० मंसिर २०७५, १५ : १३
‘नेपाली गुडिया’ मेनुका पौडेल सारेगमपको शीर्ष ११ मा

नेपाल आइडलबाट नेपालभरी चर्चामा छाएकी मेनुका पौडेल यतिबेला भारतमा पनि ‘नेपाली गुडिया’ को नामले चर्चित बनेकी छिन् ।

भारतीय रियालिटी शो सारेगमपमा मेनुकाले एकपछि अर्को गर्दै उत्कृष्ट प्रस्तुती दिएकी छिन् । यससँगै उनी शीर्ष ११ मा उक्लिएकी छिन् ।

शनिबार रातीको एपिसोडमा कुमकुम भाग्य टेलिश्रृङ्खलामा तनुश्रीको भूमिका निभाएकी लिना जुमानी मेनुकाको समर्थनमा उपस्थित भइन् ।

मेनुकाले हिन्दी फिल्म बाजिराव मस्तानीको गीत मोहे रंग दो लाल गाएकी छिन् । मेनुकाको प्रस्तुतीपछि त्यहाँ उपस्थित सबै जुरी मेम्बर्स र जजले उभिएर ताली बजाए ।

उनको प्रस्तुतीमा जुरी मेम्बर्सले ९८ प्रतिशत अंक दिए । मेनुकाले उक्त गीत निकै गाह्रो भएकाले सुरुमा आफूलाई गाउन निकै डर लागेको बताइन् । आफ्नो आवाज नै कम सुनेका कारण उक्त गीतलाई सी सार्पमा गाएको उनले जानकारी दिइन् ।

तीन जजमध्येकी एक ऋचा शर्माले कहिलेकाँही डराउनु नै फाइदा हुने बताइन् । उनले भनिन्, ‘कहिले काँही डराउँदा नै यस्तो प्रस्तुती देख्न पाइन्छ ।’ऋचाले मेनुकाको निकै तारिफसमेत गरिन् ।

यस्तै, अर्का जज साजिदले मेनुकालाई गुडियाजस्तो देखिएको बताए । उनले भने, ‘तपाईंको जति तारिफ गरेपनि कम छ । प्रस्तुतीको अन्तरामा जुन सुर लिनुभयो, त्यो असाधारण थियो । तपाईंले लिइरहनुभएको हर्कत पनि निकै प्रस्ट छ ।’
यस्तै, शेखरले पनि उनलाई दिन प्रतिदिन बढ्दै गएको बताए । उनले भने, ‘मानिसहरुले मलाई फोन गरेरै तपाईंबारे सोधिरहेका छन्, यो नै सबैभन्दा ठूलो कुरा हो । अब तपाईंको जिम्मेवारी तपाईंको प्रशंसकतिर जान्छ ।’

कार्यक्रममा तीनै जज उनको प्रशंसा गर्दै पुनः दोस्रोपटक उभिए । उनको समर्थनमा उपस्थित तनुश्रीले पनि मेनुकाले गाएको प्रत्येक शब्दमा आफू हराएको बताइन् ।

प्रतिक्रिया दिनुहोस