जनयुद्धले स्थापित गरेका मूल्य मान्यतालाई नयाँ संस्कारको रुपमा विकास गर्नुपर्ने मन्त्री पुनको दावी

सफल खबर संवाददाता

आइतबार, ०९ मंसिर २०७५, १८ : ०२
जनयुद्धले स्थापित गरेका मूल्य मान्यतालाई नयाँ संस्कारको रुपमा विकास गर्नुपर्ने मन्त्री पुनको दावी

रोल्पा । उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री वर्षमान पुन ‘अनन्त’ले जनयुद्धले स्थापित गरेका मूल्य मान्यतालाई नयाँ संस्कारको रुपमा विकास गर्नुपर्ने बताउनुभएको छ । जनयुद्धका समयमा आर्जित विभिन्न सम्पत्तिको संरक्षणमा सचेत नागरिकले पहल गर्नुपर्ने भन्दै ऐतिहासिक राक्सेबाङ मेलाको पनि त्यही महत्व रहेको बताउनुभयो ।

जनयुद्ध सम्झिने नयाँ शैलीः
शनिबार परिवर्तन गाउँपालिकाको वडा नं. ४ पाछाबाङ राक्सेबाङमा लाग्ने भव्य मेलालाई सम्बोधन गर्दै उर्जामन्त्री वर्षमान पुनले जनमुक्ति सेना स्थापना दिवसको सन्दर्भ पारेर लगाइने मेलाको ऐतिहासिक महत्व रहेको बताउनुभयो । मंसिर ८ गते नै तत्कालीन माओवादीले आफ्नो फौंजी दस्ताको रुपमा जनमुक्ति सेना नेपालको औपचारिक घोषणा गरेको थियो ।

युवाशक्ति देश निर्माणमा
मन्त्री पुनले शनिबार राक्सेबाङमा आयोजित भव्य सभालाई सम्बोधन गर्दै युवा पंक्तिले देश निर्माणका लागि श्रम खर्चिनुपर्ने बताउनुभयो । विविधतापूर्व संस्कार संस्कृति, खेलकुद, पर्यटन प्रवद्र्धन लगायतका क्षेत्रमा युवाहरुले अग्रसरता देखाउनुपर्ने भन्दै मन्त्री पुनले समृद्ध नेपाल र सुखी नेपालीको परिकल्पनालाई साकार पार्न युवा शक्तिको बलियो साथ रहने विश्वास व्यक्त गर्नुभयो ।

स्थानीय जलजला युवा क्लव पाछाबाङको वार्षिकोत्सवको सन्दर्भमा प्रमुख अतिथिका रुपमा राक्सेबाङ पुग्नुभएका मन्त्री पुनले स्थानीय विभिन्न समूहद्वारा प्रस्तुत झाँकीहरुको समेत अवलोकन गर्नुभएको थियो । काठमाडाैंमा विप्लव नेतृत्वकाे नेकपाले जनसभाकाे अायाेजना गरिरहँदा राेल्पाका अभिभावकीय नेता वर्षमान पुन भने जनयुद्धकाे सम्झना गर्न राेल्पाली नेता कार्यकर्तामाझ पुग्नुभएकाे हाे ।

क्लवका अध्यक्ष केआर बुढामगरको अध्यक्षतामा भएको उदघाटन कार्यक्रममा पूर्व सभामुख ओनसरी घर्तीमगर, प्रदेशसभा सदस्य दिपेन्द्र पुनमगर, जिल्ला समन्वय समिति रोल्पाका प्रमुख राजबहादुर बुढामगर, नेपाल पत्रकार महासंघ ५ नं. प्रदेश अध्यक्ष मौसम रोकामगर लगायत राजनीतिक दल, विभिन्न सरकारी तथा गैरसरकारी संघसंस्था र स्थानीयको बाक्लो उपस्थिति रहेको थियो । मेलामा पश्चिमी रोल्पाका साथै पूर्वी तथा पश्चिम रुकुम, सल्यान लगायतका जिल्लाहरुबाट समेत मेलाभर्न आउने चलन छ । क्लवले खुल्ला भलिबलसहित विभिन्न आधादर्जन खेलकुदको समेत आयोजना गरेको छ ।

प्रतिक्रिया दिनुहोस