संस्थागत सुशासनमा अघि बढ्दै भरतपुर महानगर : बास्कोटा

सफल खबर संवाददाता

आइतबार, ०९ मंसिर २०७५, १६ : ३३
संस्थागत सुशासनमा अघि बढ्दै भरतपुर महानगर : बास्कोटा

भरतपुर । संस्थागत सुशासनमा भरतपुर महानगर अघि बढिरहेको कार्यक्रमका वक्ताहरुले बताएका छन् । भ्रष्टचारविरुद्ध अभियान चितवनको समन्वयमा भरतपुर महानगरपालिकाले गरेको ‘संस्थागत सुशासन र वित्तीय प्रबन्ध’ विषयक कार्यशाला गोष्ठीका वक्ताहरुले भरतपुर महानगरपालिका संस्थागत सुशासनमा अघि बढिरहेको बताएका हुन् । 
कार्यक्रममा प्रमुख सूचना आयुक्त कृष्णहरि बास्कोटाले भरतपुर महानगरपालिकामा सुशासन कायम भइरहेको र सुशासनलाई अझ मजबुद बनाउन सुझाव दिनुभएको थियो । उहाँले भन्नुभयो, ‘आम मानिसको सूचना माग्ने हक सबैमा हुन्छ, त्यो हक महानगरवासीहरुले प्रयोग गरिरहेका र सूचना दिने काम भरतपुर महानगरबाट प्रभावकारी भइरहेको छ ।’
प्रमुख सूचना आयुक्त कृष्णहरि बास्कोटाले तीनतीन महिनामा कार्यालयका सूचनाहरु सार्वजनिक गर्नुपर्ने बताउँदै भन्नुभयो, ‘सूचना सार्वजनिक गर्ने काम भरतपुर महानगरबाट भइरहेकै छ ।’ प्रमुख बास्कोटाले भन्नुभयोे, ‘सार्वजनिक खलल पुग्ने, गोपनियता भङ्ग हुने र जातीय दंगा भड्कने खालको सूचना दिनुपर्दैन ।’ उहाँले सूचनाको हक लोकतन्त्रको प्राण वायु रहेको बताउनुभयो । 

प्रमुख सूचना आयुक्त बास्कोटाले भरतपुर महानगरलाई ५ कुरामा खाद्यान्न, हरियो तरकारी, फलफूल, माछामासु, दुग्धजन्य पदार्थमा आत्मनिर्भर हुनलाई सुझाव दिनुभएको थियो । उहाँले यसैगरी महानगरलाई भ्रष्टचारको गन्ध नआउने तरिकाले प्रशासनलाई चुस्त दुरुस्त राख्न सुझाव दिनुभयो । प्राविधिक शिक्षा र युवालाई तालिमको व्यवस्था गर्न पनि महानगरलाई प्रमुख आयुक्त बास्कोटाले सुझाव दिनुभएको थियो । 
यसैगरी कार्यक्रममा कर विज्ञ रुप खड्काले भरतपुर महानगरको कर व्यवस्थापन राम्रो लागेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘कर वृद्धि होइन, करको दायरा बढाउनुपर्छ, भरतपुर महानगरमा करको दायरा बढिरहेकै छ ।’ खड्काले ज्यादा कर लगाउने अर्थात् ज्यादा कर छुट दिने दुबै गर्न नहुने बताउनुभयो । भरतपुर महानगरलाई पनि उहाँले करमा छुट नदिन र दायरा जतिसक्दो फराकिलो बनाउन सुझाव दिनुभएको थियो ।  

कार्यक्रममा महानगर प्रमुख रेनु दाहालले भरतपुर महानगरले कर वृद्धिभन्दा पनि करको दायरा फराकिलो बनाउँदै लगेको बताउनुभयो । कार्यक्रममा महानगर प्रमुख दाहालले सबैको सहकार्य र सहयोगमा भरतपुर महानगरलाई देशकै उदाहरणीय महानगर बनाउने प्रतिबद्धता गर्नुभएको थियो । उहाँले भन्नुभयो, ‘भरतपुर महानगरलाई सबैको साथ, सहयोगको अपेक्षा सदैव छ, सबैको साथ र सहयोग भए भरतपुर महानगरलाई देशकै नमुना महानगरको रुपमा भए चिनाउन हामी सक्षम हुने थियौँ ।’ सबैसँग सहकार्य र समन्वय गरेर महानगर अघि बढिरहेको उहाँको भनाइ थियो । उहाँले भन्नुभयो, ‘हामीले भरतपुर महानगरलाई सुशासनबाट टाढा राखेका छैनौँ, यहाँ कतै कुनै अनियमितता भएजस्तो मलाइ लाग्दैन ।’
कार्यक्रममा महानगर उपप्रमुख पार्वती शाहले कर्मचारी र जनप्रतिनिधिबीच समन्वयका साथ अघि बढिरहेको बताउनु भयो । कार्यक्रममा प्राध्यापक चिरञ्जीवी श्रेष्ठ, शिक्षाविद् रमाकान्त सापकोटा, उद्योग संघका वरिष्ठ उपाध्यक्ष राजु पौडेल, बीउ व्यवसायी मित्रराज दवाडी, पर्यटन व्यवसायी विश्वराज सुवेदी, प्रदेश ३ का उद्योग वाणिज्य महासंघका उपाध्यक्ष राजन गौतमलगायतले जिज्ञासा राख्नुभएको थियो ।  

प्रतिक्रिया दिनुहोस