मिस वर्ल्ड भोटिङ राउन्ड : नेपालकी शृंखला एक नम्बरमा

सफल खबर संवाददाता

बुधबार, ०५ मंसिर २०७५, १५ : ३६
मिस वर्ल्ड भोटिङ राउन्ड : नेपालकी शृंखला एक नम्बरमा

काठमाडौं । ‘मिस नेपाल–२०१८’ श्रृखंला खतिवडा ‘मिस वर्ल्ड–२०१८’मा भोटिङमा एक नम्बरमा छिन् । ‘मिस वर्ल्ड–२०१८’को फाइनल यही मंसिर २२ गते चीनमा हुँदैछ । उक्त प्रतियोगिताका विभिन्न चरणमध्ये अहिले भोटिङ भइरहेको छ । 

सामाजिक सञ्जालमार्फत् भोटिङ खुला गरिएको छ । सामाजिक सञ्जाल ‘मोभस्टार’मा गएर श्रृंखलाको तस्बिर तथा भिडियोमा लाइक, सेयर तथा कमेन्ट गरेका आधारमा भोट काउन्ट हुन्छ । यस्तै, फेसबुकमा गएर लाइक, कमेन्ट र सेयर गरेको खण्डमा पनि भोट काउन्ट हुने व्यवस्था मिलाइएको छ । 
विश्वका १२२ देशका सुन्दरीहरु प्रतियोगितामा सहभागी छन् । यो समाचार तयार पार्दासम्म १२१ देशका प्रतिस्पर्धीलाई पछि पार्दै श्रृंखला अनलाइन भोटिङमा एक नम्बरमा छिन् । श्रृंखलाले ५८ हजार ८१६ भोट पाएकी छन् । (सामाजिक सञ्जालमा उनलाई ५८ हजार ८१६ पटक खोजिएको छ ।) 

नेपालपछि दुई नम्बरमा फ्रान्स छ । फ्रान्सकी सुन्दरीको सामाजिक सञ्जाल ३० हजार २१० पटक खोजिएको छ । तीन नम्बरमा अमेरिकाकी सुन्दरी छिन् । उनको सामाजिक सञ्जाल २० हजार ७१० पटक खोजिएको पाइएको छ । चौथोमा रसिया छ । रसियाकी सुन्दरीको सामाजिक सञ्जाल १६ हजार ५६१ पटक र पाँचौं स्थानमा रहेकी अष्ट्रेलियाकी सुन्दरीको सामाजिक सञ्जाल १५ हजार १५ पटक भिजिट गरिएको छ । बंगलादेशकी सुन्दरी छैटौं स्थानमा रहँदा भारतीय सुन्दरी ११औं स्थानमा छिन् । उनको सामाजिक सञ्जाल ५ हजार ८७५ पटक हेरिएको छ । 

श्रृंखलाले सामाजिक सञ्जालबाट आफूलाई भोट गर्न आग्रह गरेकी छन् । जतिसक्दो धेरै आफ्ना तस्बिरमा लाइक, कमेन्ट र सेयर गर्न उनले आग्रह गरेकी छन् । सामाजिक सञ्जालमा लोकप्रियलाई सिधै सेमिफाइनलमा प्रतिस्पर्धा गर्न दिइने बताइएको छ । 

उनले प्रतिस्पर्धी विभिन्न देशका सुन्दरीहरुलाई नेपाली भाषा बोल्न र गीत गाउन आग्रह गर्दै भिडियो पोस्ट गरेकी छन् । उनले आफ्नो भिडियोमा आफूलाई भन्दा पनि नेपालको सुन्दरतालाई देखाएकी छन् । बौद्ध स्तुपदेखि सगरमाथासम्मलाई भिडियोमा समावेश गरेकी छन् उनले । 

फरक–फरक समयमा फरक–फरक रिपोर्ट
‘गो प्याजेन्ट’ नामक एक युट्युब च्यानलले भने श्रृंखला खतिवडालाई मिस वर्ल्ड–२०१८को मुख्य दाबेदार सुन्दरीको एक नम्बर सूचीमा राखेको छ । उक्त युट्युब च्यानलले श्रृंखलाले ताज जित्न सक्ने कारणमा राजनीतिक पृष्ठभूमि, आर्किटेक्ट इन्जिनियरिङकी विद्यार्थी हुनुका साथै विभिन्न सामाजिक संघसंस्थामा कार्यरत हुनुलाई उल्लेख गरेको छ । यो अध्ययनले दुई नम्बरमा प्रुटोरिकाकी सुन्दरी डायना मार्टिनेजलाई राखेको छ । तर, यो च्यानलले यो भिडियो अक्टोबर २ मा अपलोड गरेको हो । 


यस्तै, अर्को युनिभर्स नामक युट्युब च्यानलले पनि उत्कृष्ट ५ को सूची जारी गर्दै श्रृंखलालाई दुई नम्बरमा राखेको छ । यो च्यानलले पनि श्रृंखलालाई सम्भावित मिस वर्ल्डको दाबेदार मान्नुको कारण सामाजिक कार्यमा उनको सक्रियता नै हो । यस्तै, यसले श्रृंखलाको सुन्दरताको पनि खुलेर प्रशंसा गरेको छ । 

सम्भावित मिस वर्ल्डका सुन्दरी भनेर रिसर्च गर्ने ‘गो प्याजेन्ट’ले अक्टोबर १२ मा अपलोड गरेको भिडियोमा भने श्रृंखला अटाएकी छैनन् । सम्भावित १६ जनाको सूचीमा उनी नअटाएकी हुन् । उक्त सूचीको एक नम्बरमा साउथ अफ्रिकाकी टमरियल ग्रिन छिन् । नोभेम्बर ६ मा अपलोड गरिएको सम्भावित बलिया प्रतिस्पर्धीको सूचीका श्रृंखला चार नम्बरमा छिन् । 

‘गो प्याजेन्ट’ले विभिन्न समयमा प्रतिस्पर्धी सुन्दरीमा आएको विकास र प्रगतिका आधारमा सम्भावित दाबेदारको सूची तयार पार्दै आएको छ । 

यस्तो छ श्रृंखलाको पृष्ठभूमि
श्रृंखला राजनीतिक पृष्ठभूमि रहेको परिवारकी सदस्य हुन् । उनी ने क पाबाट संघीय संसद्का सदस्य विरोध खतिवडाकी छोरी हुन् । उनी पुल्चोक इन्जिनियरिङ क्याम्पसकी आर्किटेक्टकी विद्यार्थी हुन् । मिस नेपाल भइसकेपछि उनी विभिन्न सामाजिक कार्यमा सहभागी हुँदै आएकी छन् । 

श्रृंखलालार्इ भोट गर्न यहाँ क्लिक गर्नुहोस्

प्रतिक्रिया दिनुहोस