दीपकको ‘मन मगन’अब अंग्रेजी र स्पेनिसमा पनि

मंगलबार, ०४ मंसिर २०७५, १४ : ५०
दीपकको ‘मन मगन’अब अंग्रेजी र स्पेनिसमा पनि

काठमाडौँ । सुपरहिट गीत ‘मन मगन....’ नेपाली र हिन्दी भाषापछि अंग्रेजी र स्पेनिसमा पनि बन्ने भएको छ । नेपाली बाजालाई विश्व बजारमा परिचित गराउन विभिन्न भाषामा गीत बनाउन लागेको गायक दिपक बज्राचार्यले जानकारी दिए ।
गीतमा  धा, धीमे, नगडा, खिः जस्ता मौलिक बाजा र ताल प्रयोग गरेका छन्। बाजा र प्रस्तुतिले यसमा मौलिकता र नयाँपन भरेको छ।
‘लेट द वर्ल्ड डान्स इन नेपाली म्युजिक’ अर्थात्, संसारलाई नेपाली संगीतमा नचाऔं भन्ने अवधारणाबाट सुरु भएको अभियानलाई निरन्तरता दिन बज्राचार्यले यस्तो गर्न लागेको बताए ।
उनी भन्छन् –आज ‘मन मगन’ गीतमा संसारै नाच्न थालेको छ।
सुरुमा नेपाली भाषामा रेकर्ड गरिएको यो गीत दीपकले नेवारीमा गाए। यसको लोकप्रियता यति बढ्यो, उनलाई यही गीत हिन्दी भाषामा गाउन भारतको एक म्युजिक कम्पनीबाट प्रस्ताव आयो। उनले यही धुनमा गीतका शब्दहरू थोरै हेरफेर गरेर हिन्दीमा गाए। त्यो पनि आज हिट छ। अब यसलाई अंग्रेजी र स्पेनिस भाषामा गाउने तयारी भइरहेको उनी बताउँछन्।

यति मात्र होइन, भारतको डान्स रियालिटी शो ‘डान्स प्लस’ को एक सहभागी टोलीले ‘मन मगन।।।’ मा नृत्य प्रस्तुत गरिसकेको छ।

‘विदेशीलाई लोकबाजासहितको फ्युजन सुनाएर हामीले नेपालका मौलिक बाजाहरूको झलक दिँदै आएका थियौं,’ दीपकले भने, ‘मन मगनले नेपाली तालमा संसारलाई नचाउने उद्देश्य पनि पूरा गर्दैछ।’

दीपकले यो गीतको म्युजिक भिडियोमा पनि नयाँपन दिएका छन्। यसमा नेपालका विभिन्न भेगका परम्परागत नाच प्रस्तुत गरिएको छ। यसमा इन्द्रजात्रामा देखाइने लाखे नाच र पुलिकिसी छन्। भक्तपुरको घिन्ताङ किसी छ। धिमेनाच छ। पहाडको झ्याउरे र लिम्बूहरूको झाँक्री नाच पनि छ। सँगसँगै, सहरमा लोकप्रिय हिपहप पनि देख्न पाइन्छ।

दीपकको प्रायः गीतमा हामी ‘ल्याटिनो’ संगीतको प्रभाव पाउँछौं। ‘मन मगन’ पनि यसबाट अछुतो छैन।

 

प्रतिक्रिया दिनुहोस