‘खशोग्जी हत्याबारे निष्कर्षमा पुग्न बाँकी’

एजेन्सी

आइतबार, ०२ मंसिर २०७५, १४ : ५०
‘खशोग्जी हत्याबारे निष्कर्षमा पुग्न बाँकी’

अमेरिकी विदेश मन्त्रालयले भनेको छ- साउदी पत्रकार जमाल खशोग्जीको हत्याका जिम्मेवारबारे ट्रम्प प्रशासन निष्कर्षमा पुगिसकेको छैन ।

इस्तानबुलस्थित साउदी वाणिज्य दूतावासमा भएको खशोग्जीको हत्यासँग सम्बन्धित थुप्रै प्रश्नहरू अनुत्तरित नै रहेको अमेरिकाले जनाएको छ ।

यसअघि अमेरिकी गुप्तचर निकाय सीआर्इएले साउदी युवराज मोहम्मद बिन सलमानले नै साउदी पत्रकार खशोग्जीको हत्या गर्न निर्देशन दिएको बताएको थियो।

साउदी अरेबियाले भने त्यस्तो दाबीलाई गलत भनेको छ र युवराजलाई उक्त हत्याको योजनाबारे केही थाहा नभएको दोहोर्‍याउँदै आएको छ ।

विश्वास
अमेरिकी सञ्चारमाध्यमहरूका अनुसार साउदी युवराजको अनुमोदन विना खशोग्जीको हत्या भएको भन्ने कुरामा अमेरिकाले विश्वास गर्न सक्दैन ।

अमेरिकाले साउदी अरेबियासँगको रणनीतिक सम्बन्ध कायम राख्दै सो विषयमा थप छानबिन गर्ने बताएको छ  ।आउँदो मङ्गलवार प्राप्त हुने प्रतिवेदनको प्रतीक्षामा रहेका अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले सो प्रतिवेदनपछि अमेरिकी अधिकारीहरूलाई पत्रकार खशोग्जीको हत्याका वास्तविक जिम्मेवार पत्ता लाग्ने बताएका छन् ।

साउदी सरकारको प्रखर आलोचक खशोग्जी आफ्नो विवाहका लागि कागजातहरू लिन गएका बेला इस्तानबुलस्थित साउदी वाणिज्य दूतावासमा प्रवेश गरेदेखि बेपत्ता भएका थिए ।

खशोग्जीको हत्यामा ११ जनामाथि अभियोग लगाइएको छ र तीमध्ये पाँचजनालाई मृत्युदण्डको सजाय हुनुपर्ने अभियोजनकर्ताले माग गरेका छन् ।

को थिए खशोग्जी?
उनी एक चर्चित पत्रकार थिए, जसले अफगानिस्तानमा सोभियत संघको अतिक्रमणदेखि ओसामा बिन  लादेनको उदयसम्मका विषयमा कैयौँ साउदी समाचार संस्थाका लागि समाचार लेखे ।

दशकौँसम्म उनी साउदी राजपरिवारको निकट रहे र सरकारको सल्लाहकारका रूपमा पनि उनले काम गरे । तर पछि उनले राजपरिवारको विश्वास गुमाए र गत वर्ष उनी अमेरिकामा निर्वासनमा गए ।

त्यहाँबाट उनले अमेरिकी पत्रिका द वाशिङ्टन पोस्टका लागि मासिक स्तम्भ लेख्न थाले, जसमा उनले साउदी युवराज मोहम्मद बिन सलमानका नीतिहरूको आलोचना गरे ।

आफ्नो पहिलो स्तम्भमा खशोग्जीले विरोधी स्वरमाथि दमन गर्न लागेका राजकुमार मोहम्मदले गिरफ्तार गराउन सक्ने आशङ्का व्यक्त गरेका थिए ।

बेपत्ता हुनु तीन दिनघि बीबीसीको न्यूजआवर कार्यक्रममा उनले भनेका थिए, "विरोधी हुँदैमा मानिसहरू गिरफ्तार भइरहेका छैनन्, स्वतन्त्र विचार राख्नेहरू पनि गिरफ्तार गरिँदैछन् ।" - बीबीसी 

प्रतिक्रिया दिनुहोस