फुटबलले सिकाउने ११ पाठ

शुक्रबार, ३० कार्तिक २०७५, १८ : २७
फुटबलले सिकाउने ११ पाठ

फुटबलले धेरैको ध्यान आकर्षित गर्छ । तर, यस खेलको महत्व जित/हार, खेल्न वा हेर्नमा मात्रै सीमित छैन । शारीरिक वा मानिसक स्वास्थ्यमा आउने सकारात्मक प्रभाव मात्रै पनि यसको विशेषता होइन । वास्तवमा यो खेलले जीवनोपयोगी पाठ सिकाउँछ । त्यसैले त फुटबललाई विश्वकै लोकप्रिय खेल मानिन्छ । फुटबलबाट सिक्न सकिने ११ पाठ यस प्रकार छन् :

१ जित्नका लागि  क्षमता र हृदय
कहिलेकाहीँ ठूला टिम पनि हार्छन् । तपाईं कुनै कुरामा प्राकृतिक रूपमै क्षमतावान् वा अब्बल हुन सक्नुहुन्छ । तर, तपाईंसँग लगाव, गाम्भीर्य र हृदय छैन भने नतिजा प्रतिकूल आउन सक्छ ।
त्यसैले कसैलाई कम नआँक्नुस् । आफ्नो हृदय ठूलो बनाउनुस् र क्षमतालाई निरन्तर तिखार्नुस् ।

२ वर्तमानमा रमाउनुस्
हरेक क्षणमा चुनौती र जोखिम छन् । त्यसैले जे तपाईंसँग छ, त्यसैको भरपुर मज्जा लिन सक्नुपर्छ । फुटबलरहरूको जीवनले यस्तो पाठ सिकाउँछ । जतिसुकै उत्कृष्ट किन नहोस्, खेल्दाखेल्दै चोट लागेर एकै क्षणमा फुटबलरको करिअर अन्त्य हुन सक्छ । यस्ता घटना धेरै छन् ।

३ असफलता अस्थायी हो
हरेक प्रतियोगितामा एउटा टिम मात्रै विजयी हुन्छ । बाँकी सबै टिमले हार्छन्् । तर, के उनीहरूले सबै त्याग्छन् ? अहँ, फुटबलमा यस्तो हुँदैन । उनीहरू के गलत भयो भनेर खोज्छन् । त्यसलाई समाधान गर्ने प्रयास गर्छन् र अर्को प्रतियोगिताका लागि फेरि तयार हुन्छन् । यो एउटा ठूलो पाठ हो, किनकि असफलता अस्थायी समस्या हो, स्थायी होइन ।

४ कडा मिहिनेत
खराब परिस्थिति चिर्नका लागि फुटबलरहरू निरन्तर संघर्षरत हुन्छन् । उनीहरूले कडा मिहिनेत गरेका हुन्छन् । जित्नका लागि प्रेरित भएर खेल्छन् । तर, हारेको खण्डमा पनि सहज रूपमा नतिजा स्विकार्छन् ।

५ जितका लागि टिमवर्क
फरक–फरक विशेषताका खेलाडी मिलेर टिम तयार हुन्छ । उनीहरूबीचको संयोजन र सहकार्यले नै प्रतिस्पर्धाका लागि योग्य बनाउँछ । तपाईंले आफ्नो जीवनका फरक–फरक आयामलाई यसरी नै संयोजन गर्न आवश्यक छ । अनि मात्रै तपाईंको जीवन कलात्मक बन्छ ।

६ सधैँ तपाईंले जित्नुहुन्न
फुटबलमा त्यस्तो टिम हुँदैन, जसले कहिल्यै नहारोस् । कुनै न कुनै दिन हरेकले हार्नैपर्छ, तपाईं जतिसुकै उत्कृष्ट हुनुहोस् । यो कुराबाट सिक्नुस् । जीवनको कुनै मोडमा हारे पनि त्यसलाई सहजै स्विकारेर नयाँ परिस्थितिका लागि तयार हुन ऊर्जा मिल्छ ।

७ अनुशासनको आवश्यकता
फुटबलमा सफलताका लागि कडा अनुशासन आवश्यक पर्छ । आफ्नो शरीर र क्षमता मेन्टेन गर्न तपाईंले दैनिक अभ्यास गर्नुपर्छ । कडा अनुशासनले मात्रै सफलता हासिल हुन्छ । जीवनमा यही सूत्र लागू हुन्छ ।

८ लक्ष्य निर्धारण
फुटबल खेलाडीहरूसँग धेरै लक्ष्य हुन्छ । कस्तो खेल्ने, कति गोल गर्ने, वर्षमा कति आम्दानी गर्ने, कति उपाधि जित्ने, करिअरलाई कसरी अघि बढाउने इत्यादि । हामीले पनि सपना देख्नुपर्छ । लक्ष्य निर्धारण गरेर त्यसका लागि पर्याप्त योजना र तयारी गर्नुपर्छ ।

९ कोही सधैँ रहँदैन
निश्चित उमेरपछि ठूलाभन्दा ठूला स्टारले पनि खेल्न छाड्छन् । त्यसपछि नयाँ पुस्ता आउँछ । पुरानाको चर्चा र रवाफ उस्तै रहँदैन । जीवन पनि यस्तै हो । कोही सधैँ उस्तै रहँदैन । हरेक परिस्थितिलाई हाँसेर स्विकार्नुपर्छ ।

१० एक–अर्काका परिपूरक
मैदानभित्र एउटाले राम्रो खेल्न सकेन भने पूरै टिमको प्रदर्शन खस्कन्छ । तपाईंको जीवन पनि यस्तै हो । अरूले गर्ने कामले तपाईंको जीवनमा जति अर्थ राख्छ, तपाईंको काम पनि अरूका लागि त्यति नै अर्थपूर्ण हुन्छ । त्यसैले राम्रो सोचौँ, राम्रो प्रयास गरौँ ।

११ हार वा जित महत्वपूर्ण
जसरी फुटबलमा हार वा जितको अर्थ हुन्छ, त्यसरी नै तपाईंको लक्ष्य पूरा भयो वा भएन भन्ने सवाल महत्वपूर्ण हुन्छ । लक्ष्यप्राप्तिका लागि सकारात्मक सोच, कडा परिश्रम र धैर्य आवश्यक हुन्छ । एउटा लक्ष्य पूरा भएन भन्दैमा हरेस खाने होइन । तत्कालै अर्को लक्ष्य निर्धारण गर्न सक्ने खुबीको विकास गर्नुपर्छ । - नयाँ पत्रिकाबाट 

प्रतिक्रिया दिनुहोस