बीपी कोईरालाको अन्तिम लेख

मलाई देवताले केही अनुकम्पा गर्लान् भन्ने त्यस्तो केही लाग्दैन : बीपी कोईराला

बुधबार, २८ कार्तिक २०७५, १२ : ५१
मलाई देवताले केही अनुकम्पा गर्लान् भन्ने त्यस्तो केही लाग्दैन : बीपी कोईराला

म देख्छु– कति साना बच्चाहरू मरिरहेका छन्, आमाहरूले कति कल्पेर देवताहरूको प्रार्थना गरे होलान्, कतिका दुलाहा मरिरहेका होलान्, घर बर्बाद कतिको भयो होला । ती सबै कुराहरू देख्ता भने मलाई ईश्वरको विशेष अनुकम्पा हुन्छ भन्ने पत्यार लाग्दैन ।

अस्ति चन्द्रशेखर यहाँ आएका थिए । उनले पशुपतिनाथ जान्छु भने र मेरा डाक्टरलाई लिएर गए । त्यहाँबाट दुई बोहता प्रसाद लिएर आए, एउटा सुशीलालाई दिए र अर्को अरू कसैलाई दिए । उनले ल्याएर मलाई टीका लगाइदिए, भनेँ– उनले प्रसाद लिँदा केही भने होलान् नि पशुपतिनाथलाई ! उनको भावना जो छ, त्यसलाई म कदर गर्दछु । एक जनाले साइबाबाको विभूति मेरी जहानलाई दिएको रहेछ यो लगाइदिनोस् भनेर । मलाई विभूति दिने व्यक्तिको वा त्यस विभूतिलाई पवित्र ठान्ने मेरी पत्नीको भावनालाई म असाध्य कदर गर्छु । यो पनि मलाई थाहा छ– मानिसको आत्मबलमा छ । सानो एउटा संकट छ, कतिलाई छटपटाएर मारिदिन्छ । कोही मान्छे त्यो संकटमाथि विजय प्राप्त गर्दछ । त्यो पनि मलाई थाहा छ दैवी शक्ति भन्ने कुरा त्यसबाट निःसृत हुन्छ ।

यसपालि म बम्बईको एउटा क्यान्सर हस्पिटलमा थिएँ । क्यान्सर हस्पिटलको वातावरण बडो निन्याउरो किसिमको छ, किनभने क्यान्सर भयो भन्नेबित्तिकै त त्यस व्यक्तिलाई मृत्युदण्ड दिएजस्तो नै भयो । एउटा मान्छेलाई मृत्युदण्ड हुन्छ, त्यसको अपिल इत्यादि गर्दागर्दा पाँच–छ वर्षमा त्यो कार्यान्वित हुन्छ । त्यस्तै हो क्यान्सर भनेको पनि । जसलाई क्यान्सर भयो भनेको छ, त्यो आधा त्यसै मरिसकेको जस्तो हुन्छ ।

त, म टहलिइरहेको थिएँ बम्बईको क्यान्सर हस्पिटलको छतमा । सानो छत छ । अरूभन्दा पहिले गएर म टहलूँ भनेर गएको थिएँ । अरू कोही बिरामी जाँदैनन् त्यहाँ । त्यहाँ मैले देखेँ एउटी स्वास्नीमान्छे सूर्योदयको प्रतीक्षामा उभिरहेकी थिई । उसले देखी मलाई । म पनि एउटा कुनामा टहलिइरहेको थिएँ । उसले आफ्नो चप्पल फुकाली र बडो आर्तरोदन र करुणाको बरमा प्रार्थना गरी त्यो सूर्यलाई । मलाई लाग्दछ– त्यसको छोरा अथवा दुलाहा मजस्तै रोगी होला । अनि मलाई लाग्यो– सबैको परिवारलाई त त्यहाँ चोट परिरहेको छ, जस्तो उसलाई पर्योै होला, त्यस्तै मेरो परिवारलाई र अरू परिवारलाई पनि पर्यो होला चोट ।

अब देवताले क–कसलाई बचाइहिँड्नेरु अब एउटी स्वास्नीमानिस जसको तमाम आधार नै डुब्न थालेको छ, केही आधार नभएर उदाउन लागेको सूर्यलाई अर्घ दिएर प्रार्थना गर्न लागेकी छ, रोएर बलिन्द्र आँसु झारेकी छ । मन्दिरमा भएको भए त अर्कै कुरा हुन्थ्यो होला तर अस्पतालको यस छतमा त्यस हस्पिटलकै कुनै रोगीका निम्ति त्यसले पुकारा गरी होली । अधबैंसे थिई, त्यसै हुनाले आफ्ना दुलाहाका लागि होला वा छोरा वा छोरीका लागि होला, ऊ प्रार्थना गरिरहेकी थिई । अब देवताले त्यसलाई सुन्ने ? कतिलाई सुन्ने ?

मेरो समस्या के छ भने मैले कसैलाई बुझ्न खोँजे भने त्यही ठाउँमा बसिदिन्छु । मैले देवतालाई बुझ्न खोजेँ भने म के सोच्त छु भने म देवता भएको भए के गर्थें ? मैले या त क्यान्सर रोग हुँदै नहुने पार्नुपर्यो । क्यान्सर भएपछि त कति मान्छे मर्छन्, कति मान्छे मर्दैनन् । देवताले कसलाई बचाउने ? कसलाई नबचाउने ? त्यसको मापदण्ड के ?

अस्ति एउटा जोगी आए मकहाँ । ती पाखण्डी जोगी होइनन्, भित्रैदेखि लागेर जोगी भएका । पहिले हाम्रै पार्टीमा थिए, पछि के–के विरक्त लागेर उनी जोगी भए । उनी आएर भने– मेरो गुरुले थाहा पाए तपाईं बिरामी हुनुहुन्छ ।

उनका गुरु हृषीकेशभन्दा माथि बस्ता रहेछन् । गुरुले भने त्यसो हुनाले केही न केही त गर्नुपर्यो । म पनि गर्छु, तिमी पनि गर भनेर मलाई पठाएको हुनाले म आएको हुँ भने । उनले भने– तपाईंका निम्ति जे गर्नुपर्छ, कुनै अनुष्ठान वा यज्ञ, त्यो म कुनै पवित्र स्थलमा गएर गर्छु ।

अनि मैले प्रश्न गरेँ, "यतिका मान्छेहरू मरिरहेका छन्, देवताका अगाडि कति लडाइँ र नरसंहारहरू भइरहेका छन् । त्यस लडाइँमा कति बालकहरू मारिए होलान । मेराबारेमा मात्र देवतालाई किन फिकिर हुने ?

उनले भने, "मेरा गुरुले भनेका छन् कि साधारण लाखौं मानिस महत्वका हुँदैनन्, तर असाधारण एउटा व्यक्ति पनि बडो महत्त्वको हुन्छ देवताको नजरमा ।  त्यसलाई बचाउने वा रक्षा गर्ने खाँचो देवतालाई पनि पर्छ । त्यस ठाउँमा राम्रो उद्योग भएको छ र देवतालाई पनि खाँचो परेको छ भने देवताले बचाउँछन् ।" उनले त्यो एउटा तर्क दिए ।

भनाइको मतलब के हो भने अहिले हामी त हिन्दुशास्त्रको मुताबिक र आजकालको विज्ञानको मुताबिक पनि विकासमान स्थितिमा छौं । हामीहरू मानव सबैभन्दा ठूला र सबैभन्दा परिष्कृत जीव हौं अरूका तुलनामा । यो कसरी भयो ? भन्दा विकासवादीहरू भन्दछन्– तलबाट विकास हुँदाहुँदै यस रूपमा आयो । अध्यात्मवादीहरू पनि त्यस्तै कुरा भन्दछन् र हामीहरूमा अझ पनि अगाडि बढ्ने क्षमता छ भन्दछन् । हामीले त्यस क्षमतालाई बुझेर काम गर्यौं भने मानवबाट अतिमानवमा पुग्न सक्तछौं, र हुन सक्छ भोलिको मानव समाज अतिमानव समाज भएर जाओस् । त्यस दृष्टिबाट एउटा अतिमानव दस वटा साधारण मानिसभन्दा, एउटा साधारण मानिस लाख वटा फट्यांग्राभन्दा महत्त्वपूर्ण हो भन्ने कुरा मान्ने हो भने त अलिकति बुद्धिले भ्याउँछ ।

अर्को कुरा के छ भने मैले जहिले पनि भन्ने गरेको छु, हामीहरूको तर्क मानव तर्क हो र हामीहरूको दृष्टि मानवदृष्टि हो । जस्तो भ्यागुतोले हेरेको छ भने उसको देखाइमा पर्ने उसको रेटिनामा पर्ने रूप अर्कै हुन्छ । मानव चक्षुले त्यही कुरा हेर्दा अर्को रूप देखिन्छ । त्यस्तै, देवताको आँखामा पर्ने रूप विश्वको अर्कै हुन्छ, उसको तर्क पनि अर्कै छ । त्यसो हुनाले त्यो त बुद्धिले तर्कमा गर्न सक्ने कुरा उसको दृष्टिले हेर्न सक्तैनौं । देवताको कानले सुनेको कुरालाई बुझ्न सक्तैनौं । त्यसो हुनाले भन्छन् ती हाम्रा अध्यात्मवादीहरू– त्यो त असभ्य छ, केही लाग्दैन ।
राष्ट्रपुकार, साप्ताहिक, २०३८ पुषमा प्रकाशित
 

प्रतिक्रिया दिनुहोस