निमोनिया भन्नाले फोक्सोको तन्तुमा हुने सुजन वा संक्रमण भन्ने बुझिन्छ । फोक्सोमा वा फोक्सोको तन्तुमा हुने संक्रमणलाई निमोनिया भनिन्छ । वर्सेनि विश्वमा निमोनियाको बिरामी बढिरहेका छन् । आज विश्व निमोनिया दिवसको अवसरमा भरतपुर अस्पतालमा कार्यरत बालरोग विशेषज्ञ तथा नेपाल पेडियाट्रिक सोसाइटीका उपाध्यक्ष डा युवानिधि बसौलासँग निमोनिया रोगको विषयमा सफल खबरका पत्रकार बाबु कृषभले संक्षेपमा गरिएको कुराकानी यहाँ जस्ताको त्यस्तै राखिएको छ ।
के हो निमोनिया ?
नेपालमा निमोनिया बर्सेनि बढिरहेको रोग हो । यो बालबालिकालाई बढी हुने रोग हो । बालबालिकाहरुलाई मृत्युको मुखमा पु¥याउने ५ रोगमध्ये एक प्रमुख रोगको रुपमा निमोनिया पर्दछ । प्रत्येक ५ जना बच्चाको मृत्यु हुँदा एक जना निमोनियाका कारणले मृत्यु भइरहेको छ । यो रोगबाट मृत्यु हुने दर नेपालजस्ता विकासशील देशहरुमा उच्च छ । यो रोग रुघाखोकी बिग्रेर हुन्छ । निमोनिया धेरै प्रकारका हुन्छन् । जन्मेको बच्चाको ६० भन्दामाथि श्वासदर छ भने निमोनिया भएको बुझ्न सकिन्छ । दुई महिनासम्मको ५० श्वासदर छ र दुई महिनाभन्दा माथिको बच्चाको ४० भन्दा बढी श्वासदर भयो भने निमोनिया भएको बुझ्न सकिन्छ । यसले फोक्सोमा संक्रमण गराउँछ ।
कसरी लाग्छ निमोनिया रोग ?
निमोनिया सरुवा रोग हो । निमोनिया सुक्ष्म किटाणुबाट सर्छ । खोप नलगाएको बच्चाहरुलाई निमोनिया सर्ने संभावना बढी हुन्छ । बालबालिकाहरुमा स्ट्रेप्टोकोकस निमोनिया नामक व्याक्टेरियाको संक्रमणबाट हुन्छ । ५ वर्षभन्दा कम उमेरका बालबालिकाहरुलाई यो रोग सर्छ । ६ महिनासम्म रेगुलर आमाको दूध नखुवाएका बालबालिकाहरुलाई यो रोग सर्ने सम्भावना बढी हुन्छ ।
त्यस्तै पाँच वर्ष भन्दा पछिको बालबालिका हरुमा माइकोप्लास्मा निमोनिया र क्लामाइडीया भन्ने किटाणुको संक्रमण बढी हुन्छ । यी बाहेक अरु स्वस्थ्य बच्चाहरुमा हेमोफिलस इन्फ्लुएन्जा, ग्रपु ए स्ट्रेप्टोकोकस र इस्टाफाइलोकोक ले निमोनिया गराउँदछन । ६० वर्ष नाघेकाहरुलाई पनि यो रोग लाग्ने सम्भावना बढी हुन्छ । मृगौला, सुगर, प्रेसरलगायतका रोगबाट पीडित भएकालाई यो रोग लाग्ने छिटो सर्छ । धुँवा, धुलोबाट नजोगाएका बालबालिकालाई र ६ महिनापछि पोषिलो खानेकुरा नखाएका बच्चाहरुलाई पनि यो रोग लाग्छ । सरसफाइ नगर्दा पनि निमोनिया लाग्ने गरेको छ ।
यसको लक्षणहरु केके हुन् ?
निमोनिया भएकाहरुलाई रुघाखोकी लाग्नु नै मुख्य लक्षण हो । सास फेर्न गाह्रो हुने, कोखा हान्ने, ज्वरो आउने यसका अन्य लक्षणहरु हुन् । निमोनिया भएमा बालबालिकालाई पेट दुख्ने समस्या पनि हुन्छ । घ्यारघ्यार बढी हुन्छ । बालबच्चाहरु रुने कराउने बढी गर्छन् । शरीर शिथिल बनाउँदै लान्छ ।
रोकथामका उपायहरु केके हुन् ?
निमोनियाबाट बच्न धेरै कुरामा सावधानी अपनाउनु पर्छ । ६ महिनासम्म लगातार आमाको दूध खुवाउनुपर्छ । धुमपानबाट पनि यो रोग सर्नेहुनाले त्यसबाट टाढा राख्नुपर्छ । धुलोधुँवाबाट जोगाउनुपर्छ ।सरकारले निशुल्क उपलब्ध गराएका खोपहरु पूर्ण रुपले लगाउने गर्दा निमोनियाको संक्रमणबाट बचाउन सकिन्छ । नेपाल सरकारले पनि राष्ट्रिय खोप कार्यक्रममा निमोनिया बिरुद्धको खोप पिसिभि १० सुरु गरिसकेको छ । अन्य खोपहरु जस्तै फ्लु बिरुद्धका खोपहरु लगाउन सकिन्छ । अवस्थ्या अनुसार बचावटका लागि एन्टिबायोटिक्स जस्तै एचआईभी भएको अवस्थामा दिइने एन्टिबायोटिक्स दिएर पनि निमोनियाबाट बचाउन सकिन्छ ।
बच्चाको उमेर वा अन्य अवस्था र लक्षण अनुसार विभिन्न एन्टीबायोटिक्सहरु मुखबाट खाएर वा सुईको मध्यमद्वारा दिएर निमोनियाको उपचार गर्न सकिन्छ । डव्लुएचओका अनुसार सन् २०१५ मा मात्रै निमोनियाको उपचारका लागि नेपाललगायत ६६ वटा देशमा करिब १२ अर्व नेपाली रुपैयाँको एन्टिबायोटिक प्रयोग भएको थियो ।
निमोनियाले पारेको असर केके हुन् ?
सबै उमेर समूहका व्यक्तिलाई निमोनिया हुनसक्छ। संक्रमितमध्ये आधाजसो निमोनिया भाइरसका कारणले हुन्छ। व्याक्टेरियाजन्य निमोनिया भाइरल निमोनियाभन्दा बढी जोखिमपूर्ण हुन्छ। वास्तवमा निमोनिया खतरनाक संक्रमण हो। अमेरिकामै पनि वर्षे्नि दुई लाख मानिसमा न्यूमोकोकल निमोनिया हुन्छ। त्यसमध्ये ५ देखि ७ प्रतिशतको मृत्यु हुने गरेको छ। अमेरिकाजस्तो विकसित देशमा पनि निमोनिया र इन्फ्लुएन्जालाई वयस्कहरूको मृत्युको आठौं प्रमुख कारण मानिन्छ। विकसित मुलुकहरुमा भन्दा अल्पविकसित वा विकासशील मुलुकमा यो रोग लाग्ने सम्भावना १० गुना बढी रहन्छ । विश्वका ५ वर्षमुनिका ९ लाख बच्चाको मृत्यु निमोनियाका कारणले भइरहेको छ । प्रत्येक ५ जना बच्चाको मृत्यु हँुदा एक जनाको निमोनियाको कारणले भइरहेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार निमोनियाका कारण सन् २०१५ मा मात्रै संसारभर पाँच बर्ष मुनिका ९ लाख २० हजार १३६ जना बालबालिकाको ज्यान गएको थियो । सोही उमेर समूहको कुल मृत्युमध्ये १६ प्रतिशत निमोनियाको कारण भएको थियो ।
प्रतिक्रिया दिनुहोस