राजा महाराजाको कुनै काम छैन : माधव नेपाल

सफल खबर संवाददाता

शुक्रबार, २९ चैत्र २०८१, ११ : २०
राजा महाराजाको कुनै काम छैन : माधव नेपाल

रौतहट । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले देशमा राजा ल्याए बरबाद हुने भन्दै राजा महाराजाको कुनै काम नभएको बताएका छन् । उनले जनता भन्दा माथि कोही नरहेको पनि दाबी गरे ।

रौतहटको गरुडामा बिहीबार पार्टीको नवौँ जिल्ला अधिवेशनको उद्घाटन गर्दै उनले राजवादीहरूको तीनकुने आन्दोलन हिंस्रक भएको जिकिर गरे ।उनले राजावादीहरूद्वारा आफ्नो पार्टी कार्यालय तोडफोड, नागरिकका सम्पत्तिमा आगजनी, मानिस मार्ने, चोरी गर्ने र सार्वजनिक सम्पत्ति जलाउने लगायतका कार्य गरेको उल्लेख गरेका छन् ।

उनले भने, ‘चैत्र १५ गते राजावादीहरुले तीनकुनेमा जताततै कार्यालय तोडफोड गरे, पसल चोरी गर्ने काम गरे, आगजनी, मानिस मार्ने काम गरे यसले देश बरबाद हुनेवाला छ । अव राजामहाराजाको कुनै काम छैन । अव जनता नै सवै थोक हो । हामी सबैको सामु भनिरहेका छौ । हामी जनताको सेवामा लागिरहेका छौ । समाज परिवर्तनमा लागिरहेका छौ ।’

पूर्व प्रधानमन्त्री समेत रहेका अध्यक्ष नेपालले काठमाडौंमै समाजवादी मोर्चाको आमसभा भने शान्तिपूर्ण रूपमा सम्पन्न भएको दाबी गरेका छन् ।

पार्टीका नवौँ जिल्ला अधिवेशनको पूर्ण सफलताको कामना गर्दै असल नेतृत्वको चयन गरेर जिल्लामा नेकपा एसको संगठनलाई बलियो बनाउन उनले शुभकामना दिए । सो कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का नेता राजेन्द्र पाण्डे , रामकुमार भट्टराई लगायतको उपस्थिति रहेको थियो ।

 

प्रतिक्रिया दिनुहोस