सिंगो नेपाललाई खुला संग्रहालय बनाउनुपर्छ : पर्यटनमन्त्री पाण्डे

सफल खबर संवाददाता

आइतबार, २४ चैत्र २०८१, १२ : १५
सिंगो नेपाललाई खुला संग्रहालय बनाउनुपर्छ : पर्यटनमन्त्री पाण्डे

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले सिङ्गो नेपाललाई खुला सङ्ग्रहालय बनाउनुपर्ने बताएका  छन् । आइतबार ललितपुरमा ललितपुर म.न.पा.१६ पाटन दरबारस्थित जीर्णोद्धार तथा पुनर्निर्माण गरिएको देगुतलेजु मन्दिरको समुद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले नेपालमा विविधतापूर्ण संस्कृति र प्रकृति रहेको भन्दै यसलाई विश्वमा प्रचार गर्न जरुरी रहेको बताए । उनले विविधतापूर्ण संस्कृतिलाई जोगाउनका निम्ति सबैले आफ्नो आफ्नो ठाउँबाट भूमिका खेल्नुपर्ने उल्लेख गरे ।

उनले नेपालको विविधतापूर्ण प्रकृति र संस्कृतिको प्रचार गर्न सक्ने विश्वबाट आउने पर्यटकहरूले नेपालको रसस्वादन गर्न सक्ने र त्यसबाट नेपालले आर्थिक आर्जन गर्न सक्ने बताए । सिङ्गो नेपाललाई प्राकृतिक दृष्टिकोणले पनि प्राकृतिक गन्तव्यको रूपमा अगाडि बढाउनुपर्नेमा जोड दिए ।

मन्त्री पाण्डे भने, ‘हाम्रो विविधतापूर्ण संस्कृति छ । यो विविधतापूर्ण संस्कृतिलाई जोगाउनका निम्ति हामीले निर्वाह गर्नुपर्ने भूमिका आफ्नो आफ्नो ठाउँमा हामी निर्वाह गर्दछौँ । त्यसैगरी हाम्रो प्रकृति पनि विविधतापूर्ण प्रकृति छ ।

हिमालदेखि समुन्द्रको सबैभन्दा होचो सतह, जम्मा ६०-७० मिटर सतहमा भएको केचन कवलसम्म हिमाल, पहाड, तराई, सबै किसिमले जडीबुटी, जङ्गल, जल सबै दृष्टिकोणले पनि हामी विविधतापूर्ण प्रकृतिले ओतप्रोत छौँ । विविधतापूर्ण संस्कृति र विविधतापूर्ण प्रकृति यसको हामीले ग्लोबल एड्भोकेसी गर्नुपर्नेछ ।

उनले थप भने, ‘यसको विश्वव्यापी प्रचार र ब्राण्डिङ गर्नुपर्नेछ । त्यसो हुन सके संसारभरका मानिसहरू यहाँ आउने र हाम्रो प्रकृतिबाट लाभान्वित हुने र यसको रस्वादन गर्ने काम गर्न सक्छन् । हामी केबल भौतिक सम्पदाको मात्रै कुरा गरिरहेका छैनौँ । अभौतिक सम्पदा, हामीसँग त्यत्तिकै भाषाहरू छन् । त्यत्ति नै भेषभुषाहरु छन् । हामीसँग त्यस्तै संस्कृति, चाडपर्व, खानपान, विभिन्न परिकारहरू छन् ।

यो अभौतिक सम्पदा, भौतिक र अभौतिक सम्पदालाई जोडेर, जोगाएर नेपाललाई एउटा खुला सङ्ग्रहालय जस्तो, सिङ्गो नेपाललाई एउटा खुला सङ्ग्रहालय जस्तो, सिङ्गो नेपाललाई प्राकृतिक दृष्टिकोणले पनि प्राकृतिक गन्तव्यको रूपमा लिएर जानुपर्नेछ ।

मन्त्री पाण्डेले नेपालमा संस्कृति, प्रकृतिको विविधतासँगै चाडपर्व, खानपानहरू पनि नयाँ र फरक फरक रहेको उल्लेख गर्दै यसलाई विश्वमा प्रचार गर्नुपर्ने बताए । 

प्रतिक्रिया दिनुहोस