काठमाडौँ । अन्ततः प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबिच थाइल्यान्डमा भेटवार्ता हुने भएको छ । प्रधानमन्त्रीद्वय बिच शुक्रवार ४ बजे भेटवार्ता हुने परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ । प्रधानमन्त्री ओली र मोदीबिच थाइल्यान्डमा भेटघाट गराउने प्रयास सुरुदेखि नै भइरहेको थियो ।
तर भारतका तर्फबाट निश्चित भइरहेको थिएन । नेपालबाट लगातारको प्रयासले दुई प्रधानमन्त्री बिचमा अन्तिम समयमा भेटवार्ता हुने निश्चित भएको हो ।
नेपालका प्रधानमन्त्री ओली हिजै थाइल्यान्ड पुगिसकेका छन् भने भारतका प्रधानमन्त्री मोदी भोलि थाइल्यान्ड पुग्नेछन् । मोदी उतैबाट श्रीलङ्का जाने कार्यक्रम रहेको छ । श्रीलङ्का उड्नुअघि प्रधानमन्त्री अोलीसँग भेटघाटको समय राखिएको श्रोतले बताएको छ ।
भारतका प्रधानमन्त्री मोदी अप्रिल ४ मा थाइल्यान्डबाट श्रीलङ्का प्रस्थान गर्ने कार्यक्रम छ । उनी श्रीलङ्काबाट अप्रिल ६ मा भारत फर्किने छन् । यता प्रधानमन्त्री ओली थाइल्यान्डबाट अप्रिल ५ अर्थात् चैत २३ गते नेपाल फर्किने कार्यक्रम रहेको छ ।
प्रधानमन्त्री ओली र भारतका प्रधानमन्त्री मोदी बिचको सम्बन्धमा पछिल्लो समय चिसोपना देखिँदै आएको छ । नेपालको तर्फबाट मोदीले भ्रमणको निमन्त्रणा पाए पनि हालसम्म आएका छैनन् । उता भारतले प्रधानमन्त्री ओलीलाई भ्रमणको निम्तो दिएको छैन ।
ओली प्रधानमन्त्रीमा नियुक्ति हुने बित्तिकै भारत भ्रमणमा जाने इच्छा देखाएका थिए तर भारतले नबोलाएपछि उनी चीन भ्रमणमा गएका थिए । चीन गएर बीरआरआई कार्यान्वयनमा हस्ताक्षर गरेपछि भारत र नेपालबिच झन् दुरी बढेको छ ।
प्रधानमन्त्री ओली चीनबाट फर्केपछि भारत भ्रमणमा जाने घोषणा गरेका थिए तर भारतले बोलाएन । प्रधानमन्त्री ओलीको भारत भ्रमणका लागि परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले निकै प्रयास गरेकी थिइन् । उनी त्यसका लागि तीन पटक भारत भ्रमण गइन् । तर प्रधानमन्त्री ओलीले भारत भ्रमणको निम्तो पाएनन् ।
गत असोजमा पनि प्रधानमन्त्री ओलीले भारतका प्रधानमन्त्री मोदीसँग अमेरिकामा भेटघाट गरेका थिए । त्यसपछि पनि पटक पटक भारत भ्रमणका लागि प्रयास भएको थियो। त्यो सम्भव नभए पनि अहिले दुई प्रधानमन्त्रीबिचको भेटघाट थाइल्यान्डमा सम्भव भएको हो ।
परराष्ट्र मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद ढकालले विभिन्न देशका प्रमुखहरू सहभागी भएको कार्यक्रममा आफ्ना समकक्षीहरुसँँग साइडलाइन भेटघाट हुनु सामान्य कुरा भएको बताए । बिमस्टेक समिटमा विभिन्न देशका राष्ट्रप्रमुखसँग भेटघाट हुने र सोही क्रममा भारतीय प्रधानमन्त्री मोदीसँग पनि प्रधानमन्त्री ओलीको भेटघाटको हुने उनले बताए ।
‘विभिन्न देशका राष्ट्रप्रमुखसँग साइडलाइन भेटघाटको तयारीका क्रममा भारतका प्रधानमन्त्री मोदीसँग पनि भेटघाटको तयारी गरिएको हो, बाँकी समय तालिका त्यहीँबाट मिलाउने काम हुन्छ’ उनले भने ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २० चैत्र २०८१, १३ : १३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्रीसँग भारतीय विद्युतमन्त्रीको भेट
शिक्षामन्त्रीको राजीनामा र देउवा थाइल्याण्ड भ्रमणबारे बोले प्रधानमन्त्री
राजा फालेको दिन उत्सव मनाउँदैछौं, सबै सहभागी बनौं : प्रधानमन्त्री ओली
प्रधानमन्त्री ओली र देउवाबीच भेटवार्ता, आजै मन्त्रिपरिषद्को बैठक बस्दै
प्रधानमन्त्रीद्वारा रामनवमीको शुभकामना
तीनकुने घटनामा न्यायिक छानबिन गर्नेबारे विचार गर्छौं : प्रधानमन्त्री