प्रधानमन्त्री ओली असहिष्णु र गैरजिम्मेवार देखिए : माओवादी

सफल खबर संवाददाता

आइतबार, १७ चैत्र २०८१, १३ : ५२
प्रधानमन्त्री ओली असहिष्णु र गैरजिम्मेवार देखिए : माओवादी

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री केपी शर्मा ओली असहिष्णु र गैरजिम्मेवार भएको आरोप लगाएको छ ।

प्रतिनिधिसभा बैठक स्थगित भएपछि संसद् भवन नयाँ बानेश्वरमा पत्रकारहरूसँग कुरा गर्दै माओवादी सांसद माधव सापकोटाले प्रधानमन्त्री ओली स्वयं अराजकता र बेथितिलाई मलजल गर्न लागिरहेको आरोप लगाए ।

‘प्रधानमन्त्रीज्यू असहिष्णु र गैरजिम्मेवार देखिनु भएको छ,’ सापकोटाले पत्रकारहरूसँग भने, ‘उहाँ अराजकता र बेथितिलाई मलजल गर्न लागिरहनु भएको छ ।’

व्यवस्थाप्रति नै प्रश्न उठाएर शुक्रबार तीनकुनेमा घटाइएको घटनाबारे प्रतिपक्षी दलहरूले माग नगरे पनि संसद्मा आएर जवाफ दिनुपर्नेमा प्रधानमन्त्री ओलीले विपक्षीले माग गर्दा पनि संसद्लाई टार्ने काम गरेको उनले बताए ।

उनले प्रधानमन्त्रीले संसद्लाई रेस्पोन्स नगरेको पनि बताए । ‘हामीले जवाफ नमागेको भए पनि प्रधानमन्त्री संसद्मा आएर जवाफ दिनुपर्ने हो, आउनुभएन,’ सापकोटाले भने, ‘सिङ्गै नेपाललाई आश्वस्त बनाउने गरी जवाफ दिनुपर्नेमा प्रधानमन्त्रीले संसदलाई रेस्पोन्स गरिरहनुभएको छैन ।

माओवादीले संसद्को लाइभ सुनियोजित रूपमा बन्द गरिएको आरोपसमेत लगाएको छ । ‘संसद्को लाइभ बन्द गरियो, सुनियोजित भयो भन्ने हाम्रो माग हो,’ उनले भने । संसद्मा विपक्षीभन्दा सत्ता पक्ष उग्र देखिएको आरोप पनि विपक्षीको छ ।