लुम्बिनी बौद्ध विश्वविद्यालयको ‘विद्यालयमा बौद्ध शिक्षा’ अभियान सुरु

सफल खबर संवाददाता

शनिबार, १६ चैत्र २०८१, १६ : ३१
लुम्बिनी बौद्ध विश्वविद्यालयको ‘विद्यालयमा बौद्ध शिक्षा’ अभियान सुरु

लुम्बिनी ।  समाजको सकारात्मक रुपान्तरणका लागि लुम्बिनी बौद्ध विश्वविद्यालयले ‘विद्यालयमा बौद्ध शिक्षा’ अभियानको थालनी गरेको छ । विश्वविद्यालयको बौद्ध अध्ययन सङ्कायले विद्यालयमा बौद्ध शिक्षा अभियानको थालनी गरेको हो ।

अभियानअन्तर्गत लुम्बिनी बौद्ध विश्वविद्यालय बौद्ध अध्ययन सङ्कायले लुम्बिनीमा स्थानीय जनप्रतिनिधिसँग विद्यालयमा बौद्ध शिक्षा विषयक छलफलको थालनी गरेको छ ।

कार्यक्रममा लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपति प्राडा सुवर्णलाल बज्राचार्यले समाजमा विकृति विसङ्गतिको अन्त्य गरी नैतिकवान नागरिक तयार गर्न बुद्ध शिक्षा अनिवार्य गर्नुपर्ने बताए ।

‘हामीले विश्वविद्यालयमा मात्रै अध्ययन अध्यापन गर्ने गराउने होइन, हरेक घर घरमा बुद्ध शिक्षा पुर्याउन खोजिरहेका छौँ, यसमा स्थानीय तहले सहयोग गर्नुपर्छ’, उनले भने ।

बुद्धको शिक्षा जीवन रुपान्तरण गर्ने माध्यम भएको बताउँदै उनले यसलाई सबै नागरिकले अनुशरण गर्ने गरी कार्यक्रम बनाउन स्थानीय पालिकाका जनप्रतिनिधिसँग आग्रह गरे । कार्यक्रममा बुटवल उपमहानगरपालिकाका उपप्रमुख सावित्रादेवी अर्यालले बुद्ध शिक्षाको अध्ययन अध्यापन र अनुशरण गर्ने गरी उपमहानगरले कार्यक्रम बनाउने बताए ।

‘हामीसँग हीरा छ तर हामी के खोजिरहेको छौँ, हामीलाई थाहा छैन’, उनले भने । बौद्ध विश्वविद्यालय यस क्षेत्रको गहना भएको उल्लेख गर्दै उपप्रमुख अर्यालले यसलाई संरक्षण सबैको दायित्व भएकोमा जोड दिए । कायक्रममा बौद्ध शिक्षाको महत्व र पाठ्यक्रमबारे प्रस्तुति दिँदै लुम्बिनी बौद्ध विश्वविद्यालय बौद्ध अध्ययन सङ्कायका डीन डा माणिकरत्न शाक्यले आधारभूत तहका विद्यार्थीलाई मध्यनजर गरी कक्षा ६ देखि ८ सम्मका लागि पाठ्यक्रम बनाइएको जानकारी गराए ।

उनले लुम्बिनी क्षेत्रका सबै स्थानीय तहले अपनत्व लिएर यो अभियानलाई अघि बढाउनुपर्ने बताए । लुम्बिनी बौद्ध विश्वविद्यालय केन्द्रीय क्याम्पस प्रमुख डा.नीरबहादुर गुरुङले बुद्ध शिक्षाका माध्यमबाट लुम्बिनीको महत्वसमेत उजागर हुने भएकाले यसतर्फ ध्यान दिन स्थानीय तहलाई आग्रह गरे ।

लुम्बिनी सांस्कृतिक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तारा ज्ञवालीले बुद्ध जन्मस्थलसँग जोडिएको पालिका भएकाले अब बन्ने स्थानीय पाठ्यक्रममा बुद्ध शिक्षालाई प्राथमिकता दिने प्रतिबद्धता जनाए ।

सिद्धार्थनगर नगरपालिका शिक्षा शाखा प्रमुख चेतनशील लम्साल, कपिलवस्तु नगरपालिकाका शिक्षा शाखा प्रमुख हरिप्रसाद ज्ञवाली, सम्मरीमाई गाउँपालिकाका रामदास गौड, लुम्बिनी सांस्कृतिक नगरपालिकाका लक्ष्मी पोखरेल र तिलोत्तमा नगरपालिकाका भूपति ज्ञवालीलगायतले पालिकाले छुट्टै नीति बनाएर बुद्ध शिक्षालाई समेट्नुपर्ने बताए ।

अभियानअन्तर्गत विभिन्न जिल्लामा चरणबद्ध रुपमा बैठक, छलफल र अन्तरक्रिया कार्यक्रम गरिने बौद्ध अध्ययन सङ्कायले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस