तीनकुने घटनाको निष्पक्ष छानबिन गर्न राप्रपा नेपालको माग

सफल खबर संवाददाता

शनिबार, १६ चैत्र २०८१, १२ : ४२
तीनकुने घटनाको निष्पक्ष छानबिन गर्न राप्रपा नेपालको माग

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले शुक्रबार तीनकुनेमा भएको घटनाको निष्पक्ष छानबिन गर्न माग गरेका छन्। शनिबार बिहान फेसबुकमा स्टाटस लेखेर थापाले तीनकुनेमा दुई जनाको मृत्यु भएको घटनामा निष्पक्ष छानबिन गर्न माग गरेका हुन्।

‘प्रहरीको गोलीबाट सविन महर्जनको निधन हुनु र प्रदर्शनकारीहरूले आगो लगाइदिएको घरमा जलेर पत्रकार सुरेश रजकको मृत्यु हुनु जघन्य अपराध हुन्। यो घटनाको निष्पक्ष छानविन हुनुपर्छ र दोषीलाई कार्बाही गर्नैपर्छ,’ उनले भनेका छन्।

उनले शुक्रबारको घटना अप्रीय भएको र कुनै पनि बहानामा हुने हिंसा र अराजक गतिविधिको समर्थन गर्न नसकिने बताएका छन्।‘पार्टी कार्यालय,निजी घर, सुपर मार्केट र सरकारी कार्यालयमा भएको तोडफोड र आगजनी निन्दनीय छ,’ उनले लेखेका छन्।

यद्यपि तीनकुने घटनाले गम्भीर प्रश्नहरू उब्जिएको थापाले बताएका छन्। उनले परिस्थिति जटिल भएको भन्ने पूर्वसूचना हुँदा हुँदै पनि सरकारले आवश्यक सतर्कता नअपनाएको बताएका छन्।  

त्यस्ता विभिन्न प्रश्नहरूबारे पनि छानबिन हुनुपर्ने उनले बताएका छन्।  साथै भविष्यमा त्यस्ता घटनाहरू दोहरिन नदिन आयोजक र सरकार दुवै सतर्क र संयम हुनु जरुरी रहेको उनले बताए।

 थापाले केही अप्रिय घटनाहरुको बाबजुद शुक्रबार प्रदर्शनले हिन्दुराष्ट्र र राजसंस्थाको पक्षमा जनलहर बढेको पनि बताए।‘त्यसकारण जनताको परिवर्तित चाहनाको सम्मान गर्दै वार्ताको माध्यमबाट सबै बिचार र शक्ति अटाउने निकास खोज्न सम्बद्ध सबैमा हार्दिक अपिल गर्दछु,’ उनले भनेका छन्।

साथै राप्रपाका नेताहरु धवलशमसेर राणा, रवीन्द्र मिश्र, नवराज सुवेदी, स्वागत नेपाल लगायत सबैलाई तत्काल रिहा गर्न उनले माग गरेका छन्।

प्रतिक्रिया दिनुहोस