फिल्म ‘पिताम्बर’को ट्रेलर रिलिज रोकियो

सफल खबर संवाददाता

विहीबार, १४ चैत्र २०८१, १२ : २५
फिल्म ‘पिताम्बर’को ट्रेलर रिलिज रोकियो

काठमाडौं । समाजवादी मोर्चाले शक्तिप्रदर्शन गर्ने भएपछि फिल्म ‘पिताम्बर’को ट्रेलर रिलिज अनिश्चित बनेको छ । मोर्चाले शुक्रबार भृकुटीमण्डपमा सरकारविरुद्ध जनप्रदर्शन गर्दैछ ।

सोही ठाउँमा दर्शकको भब्य उपस्थितीमा ट्रेलर रिलिज गर्ने पूर्वनिर्धारित कार्यक्रम ‘पिताम्बर’ले तय गरेको थियो । फिल्मले कार्यक्रम स्थलको रकम पनि तिरिसकेको थियो । जिल्ला प्रशासन कार्यालयले समाजवादी मोर्चालाई उक्त ठाउँ तोकिदिएपछि ‘पिताम्बर’ले ट्रेलर रिलिज कार्यक्रम स्थगित गर्नुपरेको हो ।

निर्देशक कृषा चौलागाईंले ट्रेलर रिलिजको योजना अनिश्चित बनेको बताइन् । ‘केही दिनको राजनीतिक स्थिती हेरेर मात्र ट्रेलर ल्याउने टुंगो लाग्छ । हामी अहिले पनि भृकुटीमण्डपमै कार्यक्रम गर्न खोजिरहेका छौं । पैसा पनि दिइसकेको छ’ उनले भनिन् ।

प्रदीप खड्का स्टारर एक्सन फिल्म ‘पिताम्बर’ २९ चैतमा प्रदर्शन तयारीमा छ । फिल्म रिलिजको लागि झण्डै २ साता बाँकी रहँदा निर्मातालाई ट्रेलर ल्याउनुपर्ने दबाब छ ।

प्रतिक्रिया दिनुहोस