हामी सङ्घीय लोकतान्त्रिक गणतन्त्रप्रति प्रतिबद्ध छौँ :रास्वपा

सफल खबर संवाददाता

बुधबार, १३ चैत्र २०८१, ११ : ३६
हामी सङ्घीय लोकतान्त्रिक गणतन्त्रप्रति प्रतिबद्ध छौँ :रास्वपा

काठमाडौँ । पछिल्लो राजनीतिक घटनाक्रमप्रति मौन बस्दै आएको राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) ले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा रहेको प्रतिबद्धता जनाएको छ। बुधवार सिंहदरबारमा बसेको विपक्षी दलहरूको बैठकमा रास्वपाले आफूहरू गणतन्त्र पक्षधर रहेको प्रतिबद्धता जनाएको सहभागी एक नेताले बताए ।

ती नेताका अनुसार बैठकको अध्यक्षता गरेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले रास्वपाको नीति सम्बन्धमा चासो व्यक्त गरेका थिए । प्रचण्डको जिज्ञासालाई मेट्दै रास्वपाका उपसभापति डा. स्वर्णिम वाग्लेले आफू सङ्घीय गणतन्त्रप्रति कटिबद्ध रहेको, पार्टी दस्ताबेज र पछिल्लो विज्ञप्तिमा समेत स्पष्ट धारणा आइसकेकाले गणतन्त्रको विकल्प राजतन्त्र हुन नसक्ने स्पष्ट पारेको ती नेताले भने ।

‘प्रचण्डजीले अहिलेको व्यवस्थाप्रति तपाईंको पार्टीको नीति के हो ? किन मौन बस्नुभयो भनेर जिज्ञासा राख्नुभएको थियो । जवाफमा स्वर्णिमजीले पार्टी नीतिअनुसार सार्वजनिक रुपमा प्रतिक्रिया नजनाउने नीति रहेको भएपनि आफूहरू सङ्घीय लोकतान्त्रिक गणतन्त्रप्रति प्रतिबद्ध रहेका छौँ । पार्टीको राजनीतिक दस्ताबेज, प्रतिबद्धता पत्रमा पनि आधिकारिक रूपमा स्पष्ट पारेका छौँ । गणतन्त्रको विकल्प अन्य हुन सक्दैन’, सवाल जवाफबारे उदृत गर्दै ती नेताले बताए ।

वाग्लेले जस्तै रास्वपाका कार्यवाहक सभापति डोलप्रसाद अर्यालले पनि सङ्घीय लोकतान्त्रिक गणतन्त्रप्रति प्रतिबद्ध रहेको जवाफ दिएका थिए । बुधवार रास्वपाले जारी गरेको विज्ञप्तिमा ओली सरकारको विरोध गरे पनि राजनीतिक ध्रुवीकरणको विषयमा कुनै कित्तामा पनि सार्वजनिक रूपमा प्रतिक्रिया दिएको थिएन । बैठकमा नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव नेपालले कुनै प्रश्न नगरेको अर्का एक नेताले बताए । ती नेताका अनुसार खासगरी राजावादीहरूले टीआरसीसँग माओवादीले कुलमान सौदाबाजी गरेको विषयमा प्रचण्डले प्रष्टीकरण दिएका थिए । प्रमुख तीन दलको बैठक लगत्तै मन्त्रिपरिषद् बैठकबाट विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमानलाई हटाउनु प्रधानमन्त्री केपी ओलीको बदनियतपूर्ण निर्णय भएको बताएका थिए ।

‘कुलमानसँग टीआरसीको विषय नै होइन । ओलीजीले बैठक बस्न पटक पटक आग्रह गरेकाले तीन दलको बैठक बसेको हो । तर उनले बैठक लगत्तै मन्त्रिपरिषद् बैठक राखेर कुलमानजीलाई हटाउने निर्णय गर्नुभएछ । दैनिक १८ घण्टासम्मको कहालीलाग्दो लोडसेडिङ हटाउन मैले नै ल्याउन नियुक्ति दिएको हो’, प्रचण्डको भनाइ उदृत गर्दै ती नेताले भने, ‘हामीले सुरुदेखि नै ओली सरकार बिचौलिया र भ्रष्टाचारीको संरक्षणका लागि बनेको हो भनेर विरोध गर्दै आएका छौँ । यी सबै माओवादीलाई बदनाम गराउने दुष्प्रचार गर्ने प्रयास भएको छ । टीआरसी बाहेक अन्य कुनै विषयमा छलफल भएकै छैन ।

ओली सरकारले कुलमानलाई हटाउने विषयमा बैठकले एक मतले निर्णय गरेको छ । यस विषयमा प्रधानमन्त्री ओलीले जवाफ नदिएसम्म सदन चल्न नदिने निर्णय गरेको छ । सडकमा पनि संयुक्त रूपमा विरोध गर्ने निर्णय गरेको छ । विपक्षी दलको बैठकमा राप्रपाबाहेक माओवादी, एकीकृत समाजवादी, नेपाल समाजवादी पार्टी, आम जनता पार्टी र राष्ट्रिय जनमोर्चा सहभागी भएका थिए ।