नेपाल-भारत सम्बन्धलाई प्रगाढ बनाउन पार्टी र सरकार प्रतिबद्ध : नेकपा एमाले

सफल खबर संवाददाता

सोमबार, ११ चैत्र २०८१, १६ : ११
नेपाल-भारत सम्बन्धलाई प्रगाढ बनाउन पार्टी र सरकार प्रतिबद्ध : नेकपा एमाले

काठमाडौँ। नेकपा एमालेले आफ्नो पार्टी र सरकार वर्तमान नेपाल–भारत सम्बन्धलाई अझ प्रगाढ बनाउन प्रतिबद्ध रहेको जनाएको छ । कुनै विषय भए कूटनीतिक माध्यमबाट समाधान गरिने र बलियो विकास साझेदारी अगाडि बढाइने एमाले महासचिव शंकर पोखरेलले बताएका छन् ।

आज एक विज्ञप्ति जारी गर्दै उनले परराष्ट्र नीति र बाह्य सम्बन्ध जस्ता विषयमा कुनै समाचार वा टिप्पणी प्रस्तुत गर्नु पूर्व पार्टीको आधिकारिक धारणा बुझ्न सञ्चारमाध्यमहरूलाई अनुरोध पनि गरेका छन् ।

केही स्वदेशी र विदेशी मिडियाहरूले प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले केही दिन अगाडिको जनप्रदर्शनको विषयलाई लिएर बोलेको भनिएका कुराहरू सत्य नभएको पोखरेलको भनाइ छ ।

उनले भनेका छन्, ‘यी समाचारले अनावश्यक सनसनी फैलाउने एवं नेपाल र भारतबीचको युगौँ पुरानो सम्बन्धमा आशंका बढाउने दुराशय बोकेका छन् ।’

नेपालको संविधान र लोकतान्त्रिक गणतन्त्र नेपाली जनताको सार्वभौम चयनको विषय भएको एमालेको भनाइ छ ।‘इतिहासको पाङ्ग्रालाई पछाडि फर्काउने कुनै पनि प्रयासलाई नेपाली जनताले सहजै विफल पार्छन् भन्ने कुरामा हामी विश्वस्त छौँ’, विज्ञप्तिमा भनिएको छ ।

हालैको एमाले बैठकमा ओलीले आफूलाई हटाउन भारतीय खुफिया एजेन्सी ‘रअ’ लागिपरेको भन्दै भारतलाई देखाइदिने चेतावनी दिएको समाचार केही सञ्चारमाध्यममा आएका थिए ।

 

प्रतिक्रिया दिनुहोस