काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले महिला र पुरुषको समान सहभागिताबाट समाजका सबै क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउन आवश्यक भएको बताएका छन ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र नेपाल उद्योग परिसङ्घद्वारा आज यहाँ आयोजित महिला नेतृत्व सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले नेपाली परम्परा र संस्कृतिले महिलालाई देवीसरह मान्दै परिवर्तनशील र गतिशील शक्तिका रुपमा चित्रण गरेकाले महिलाको समान सहभागिता आवश्यक भएकामा जोड दिए।
“रथको एउटा पाङ्ग्रो मात्रै चलेर रथ गुड्न सक्दैन, त्यसकारण हामीले महिला र पुरुषससहितको समान सहभागिताबाट सिङ्गो समाजलाई अगाडि बढाउनुपर्छ । सामाजिक न्याय र समानता स्थापित गर्दै गरिबी हटाउने सवालमा निजी क्षेत्रसँग मिलेर काम गर्नुपर्छ”, प्रधानमन्त्री ओलीले भने, “राष्ट्रपति, प्रधानन्यायाधीशलगायत विशिष्ट पदमा हामीले महिलालाई स्थापित गरिसकेका छौँ । राजनीतिमा महिलाको सहभागिता बढ्दो छ । यो खुसीको विषय हो तर हामी यसमा मात्रै सन्तुष्ट भएर बस्नु हुँदैन । हामीले शिक्षा, उद्यम र रोजगारीका क्षेत्रमा महिलालाई अगाडि बढाउनुपर्छ ।”
सरकार र निजी क्षेत्रको सहकार्य बढाउँदै उद्यम विकास तथा महिला सशक्तीकरणलाई प्रोत्साहन गरिएको बताउँदै उनले अर्थतन्त्रको विकासका साथै सुशासन प्रवद्र्धन गर्न सरकार प्रतिबद्ध छ भने । प्रधानमन्त्री ओलीले भने, “हामी अघि बढ्नुपर्छ । पछाडि फर्कनु हुँदैन । ब्याक गियर त कहिलेकाहीँ घुम्तीमा मात्रै लगाउने हो । लोकमार्गमा ब्याक गियर लगाइँदैन । लोकतन्त्र हाम्रो राजमार्ग हो ।”
प्रधानमन्त्रीले कानुनहरु काम अल्झाउन नभई विकासमा सहयोगी हुन बनाइनुपर्ने उल्लेख गर्दै सम्मेलनबाट प्राप्त सुझाव अध्ययन गरी सरकारका नीति, व्यवहार र कानुनहरुलाई परिस्कृत गर्ने प्रतिबद्धता व्यक्त गरे ।
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले निजी क्षेत्रको सहकार्यमा औद्योगिकीकरणको प्रवद्र्धनलाई वर्तमान सरकारले प्राथमिकता दिएको बताए । उनले सरकारी निकायमा स्वदेशी वस्तुको उपयोगसम्बन्धी कार्यविधि जारीलगायत सुधारका माध्यमबाट आर्थिक क्षेत्रको विकासका लागि काम भइरहेको जानकारी दिए ।
त्यस अवसरमा प्रधानमन्त्री ओलीबाट राष्ट्रिय फुटबल खेलाडी प्रीति राई र सामाजिक अभियन्ता रुक्साना कपालीलाई सम्मान गरे ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०३ चैत्र २०८१, १२ : ४२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘होली’ हर्ष र उमङ्गको पर्व : प्रधानमन्त्री ओली
जुलुस निकाल्दा विदेशीको तस्बिर राख्नुपर्ने नाजुक अवस्थामा हामी छैनौँ : प्रधानमन्त्री ओली
प्रधानमन्त्रीको सम्बोधन बहिष्कार गर्ने कोशी माओवादीको चेतावनी
स्वदेशभित्र रोजगारीका अवसर सिर्जना गर्न निजी क्षेत्रको महत्त्वपूर्ण योगदान छ : प्रधानमन्त्री ओली
क्यानडाको नयाँ प्रधानमन्त्री हुन लागेका मार्क कार्नी को हुन् ?
सुदूरपश्चिम प्रदेशसभा बैठकलाई विशेष सम्बोधन गर्ने प्रधानमन्त्री ओली धनगढी आउँदै