मिथिला मध्यमा परिक्रमा सम्पन्न, खुला सीमाले भक्तजनलाई सहज

सफल खबर संवाददाता

शुक्रबार, ०१ चैत्र २०८१, ११ : ३०
मिथिला मध्यमा परिक्रमा सम्पन्न, खुला सीमाले भक्तजनलाई सहज

जनकपुरधाम। मिथिला मध्यमा परिक्रमा सम्पन्न भएको छ । पन्ध्र दिनदेखि जारी मिथिला मध्यमा परिक्रमा शुक्रबार जनकपुरधाम फर्किएसँगै सम्पन्न भएको हो ।लाखौं श्रद्धालु, साधु-सन्त तथा भक्तजन सहभागी धार्मिक यात्रामा नेपाल–भारत खुला सीमाले सहजता प्रदान गरेको थियो ।

समूह र क्लोथ बैंक नेपाल धनुषाले हेल्प डेस्क सञ्चालन गर्दै यात्रुहरूको सेवा गरेका थिए । शिविरबाट प्राथमिक उपचार, पानी, हराएका यात्रुहरूको खोजी तथा अन्य आवश्यक सहयोग उपलब्ध गराइएको थियो ।

 

 

 

 

 

समूहले दीपक यादव संयोजक, रुवि झा सहसंयोजक तथा कृष्णकुमार साह र धनेश्वर ठाकुर सदस्य रहनेगरी समिति बनाएको थियो । समूह र क्लोथ बैंकले आज पञ्चकोशी परिक्रमामा पनि हेल्प डेस्क संचालन गरेको छ।

क्लोथ बैंकमा सदस्य संजीव झाका अनुसार आज भक्तजनहरूले जनकपुरधाममा ‘अन्तरगृह परिक्रमा’ अर्थात् ‘पञ्चकोशी परिक्रमा’ गरिरहेका छन् ।

यो परिक्रमामा माध्यमिकी परिक्रमामा सहभागी हुन नसकेका भक्तजनहरूसमेत सामेल हुने गर्छन् । धार्मिक मान्यताअनुसार मिथिला बिहारी र किशोरीजीको डोलासँगै परिक्रमा गर्दा भक्तजनहरू विभिन्न रोग, कष्ट तथा समस्याबाट मुक्त भई मनोकामना पूर्ण हुने विश्वास गरिन्छ।

 

 

 

 

१३३ किलोमिटरको आस्था यात्रा मिथिला मध्यमा परिक्रमाअन्तर्गत श्रद्धालुहरूले १३३ किलोमिटर लामो यात्रा तय गरेका थिए । यो यात्रामा धनुषाको हनुमाननगर, बिहारको कलना (कल्यानेश्वर), फुलहर (गिरिजास्थान), महोत्तरीको मठिहानी, जलेश्वर, मडैई, ध्रुवकुण्ड, कञ्चनवन, पर्वता, धनुषाधाम, सतोखर, औरही हुँदै पुनः भारतको करुणा, विसौलमार्फत जनकपुरधाम फर्कने मार्ग समेटिएको थियो।

नेपाल भारत खुला सीमा संवाद समूहका अध्यक्ष राजीव झाका अनुसार परिक्रमा मार्गमा रहेका सीमावर्ती क्षेत्रहरूमा सांस्कृतिक सम्बन्ध अझै प्रगाढ भएको छ । भक्तजनहरूको सहजता सुनिश्चित गर्न हेल्प डेस्क स्थापना गरिएको थियो, जुन आजदेखि समापन हुनेछ।

 

प्रतिक्रिया दिनुहोस