ताप्लेजुङ । सुकेटार विमानस्थलमा पछिल्लो समय हवाई सेवा ठप्प हुँदा यात्रु समस्यामा परेका छन् । सुके टार विमानस्थलमा उडान हुने नेपाल वायु सेवा निगमका दुईवटा जहाजमा समस्या आएपछि मङ्सिर अन्तिम सातादेखि नियमित उडान बन्द भएको हो ।
विमानस्थल कार्यालयका अनुसार एउटा जहाज दसैँदेखि बिग्रिएर मर्मत भइरहेको छ भने अर्को जहाज पनि पुस पहिलो सातादेखि बिग्रिएर थन्किएको छ । लामो समयदेखि हवाई सेवा ठप्प हुँदा आन्तरिक तथा बाह्य पर्यटक, सर्वसाधारणले सेवा लिन पाएका छैनन् । यो विमानस्थलमा केही वर्षअघि सीता एयर र तारा एयरले पर्यटकीय मौसममा उडान भर्दै आएकामा हाल दुवैले सेवा बन्द गरेका छन् ।
नेपाल वायु सेवा निगमको ट्विनअटर जहाजले दसैँअघि सातामा सोमबार, बुधबार र शुक्रबार गरी तीन दिन नियमित उडान भर्दै आएकामा दसैँपछि शुक्रबार मात्रै उडान भइरहेको थियो ।
मार्च ४ (फागुन २० गत) देखि उडान पुनः सञ्चालन गर्ने आधिकारिक सूचना आए पनि जहाज नआएकाले सञ्चालन गर्न नसकिएको सुके टार विमानस्थलका वरिष्ठ अधिकृत धर्मेन्द्र खनालले जानकारी दिए । उनका अनुसार मौसम कहिलेकाहीँ प्रमुख चुनौती भए पनि यस पटक मुख्य समस्या जहाज बिग्रिएर भएको हो ।
लामो समयदेखि हवाई सेवा बन्द हुँदा ताप्लेजुङको पर्यटन क्षेत्र प्रभावित भएको छ भने स्थानीय बासिन्दा यात्राका लागि सास्ती खेप्न बाध्य भएका छन् । पर्यटकले हवाई सेवा लिन पाएका छैनन्, स्वास्थ्य उपचार तथा अन्य अत्यावश्यक कामका लागि काठमाडौँसहित अन्यत्र जानुपर्ने सर्वसाधारण झापा वा विराटनगरका विमानस्थलसम्म पुग्नुपर्ने बाध्यतामा छन् । यात्रुहरूको सहज आवागमनका लागि सम्बन्धित निकायले तत्काल आवश्यक पहल गर्नुपर्ने स्थानीयको माग छ ।
प्रतिक्रिया दिनुहोस
रासस
विहीबार, २२ फागुन २०८१, १४ : २९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
योगेश भट्टराईद्वारा पाथीभरा मुकुम्लुङ केबलकार विवादबारे १९ बुँदे ध्यानाकर्षण
पाथीभरालाई विश्व सम्पदा सूचीमा समावेश गर्न पहल गरिने
ताप्लेजुङका २५ घर परिवार बाढी पहिरोबाट विस्थापित
बाढी पहिरोले ताप्लेजुङमा दार्जनौं परिवार विस्थापित
पाथीभरामा १६ लाख ५० हजारभन्दा बढी भेटी सङ्कलन
ताप्लेजुङमा ट्याक्टर दुर्घटना : १ जनाको मृत्यु, ८ विद्यार्थी घाइते