ताप्लेजुङका हिमालका चुचुरामा मानव पाइला पुग्दै

रासस

मंगलबार, २६ चैत्र २०८१, ११ : ३५
ताप्लेजुङका हिमालका चुचुरामा मानव पाइला पुग्दै

फुङ्लिङ (ताप्लेजुङ) । हिमालको जिल्ला ताप्लेजुङ । जिल्ला सदरमुकाम फुङ्लिङबाट पूर्वतर्फ दृष्टि लगाउनेबित्तिकै अग्ला र आकर्षक देखिन्छ– कञ्चनजंघा हिमाल । केही पश्चिम फर्केर हेर्दा आँखै अगाडि देखिन्छ  कुम्भकर्ण (फक्ताङलुङ)हिमाल । यी दुवै हिमाली शृङ्खलाका वरिपरि सयौँ सानाठूला अन्य हिमाल छन्, जसको अनुपम सौन्दर्य जोकोहीलाई मोहित पार्ने खालको छ ।

गत साता शार्फु–४ पिकमा पहिलोपटक मानव पाइला पुग्न सफल भएको छ । चिलीका एक विदेशी नागरिक हर्नान लील, पवतारोही लाक्पाछिरिङ शेर्पा, नादा शेर्पा र फोटोग्राफर पूर्णिमा श्रेष्ठले छ हजार ४३३ मिटर उचाइका शार्फु–४ हिमालको पहिलोपटक आरोहण गर्न सफल भएका थिए । गत कात्तिकमा चार दक्षिण कोरियन नागरिकले छ हजार ३२८ मिटर उचाइमा रहेको शार्फु–५ पिक (हिमाली)को पहिलोपटक सफल आरोहण गरेको थियो ।

पवतारोही नादा शेर्पाको अगुवाइमा शार्फु–४ र शार्फु-५ पिकको सफ आरोहण भएको हो । शार्फु–१ देखि छवटा पिक रहेको छ । आरोहणका लागि सरकारले खुला गरेको छ । तर अन्य तीन वटा पिक भने आरोहण भएको छैन । अन्य पिकमा समेत आरोहणको तयारी भइरहेको पर्वतारोही शेर्पाले बताए । उनले भने, “काठमाडौँ जानका लागि फुङ्लिङ आएको छु । काठमाडौँबाट अर्को पिक आरोहण गर्ने टोली लिएर आउने छु ।” जिल्लामा पर्वतारोहण, साहसिक पर्यटकको सम्भावना रहेको शेर्पाले बताए । तर सरकारले यस क्षेत्रमा चासो नदेखाएकामा दुःख लागेको उनले गुनासो गरे ।

“जिल्लाका स्थानीय सरकारले प्रत्येक वर्ष पर्यटन प्रवर्द्धनको नाम मेला महोत्सव आयोजना गरेर ठूलो धनराशि खर्च गर्दै आएको छ ।” तर यस्ता खालका मेला महोत्सवले आन्तरिक तथा बाह्य पर्यटक प्रवर्द्धन हुँदैन ।” विदेशी तथा स्वदेशी पर्वतारोहीलाई प्रोत्साहन गर्ने, हिमालहरूको प्रचारप्रसार गर्ने तथा पदमार्ग सहज बनाउने कार्यक्रम गर्न आवश्यक रहेको शेर्पाले बताए । नेपाल पर्यटन बोर्डका अनुसार ताप्लेजुङमा पाँच हजारदेखि आठ हजार ५८६ मिटरसम्मका हिमाल/पिक ४८ वटा आरोहणका लागि खुला गरेको छ ।

फक्ताङ्लुङ गाउँपालिका–७ ओलाङचुङ्गोला क्षेत्रमा दुई र याङमा क्षेत्रमा चार वटा पिक आरोहणका लागि खुला गरिएको छ ।  पाँच हजार ७४० मिटरको लुम्बा सुम्बा पिक र छ हजार ५०० मिटरको लुम्बुम्बा पिक ओलाचुङगोला क्षेत्रमा पर्छ । यस्तै याङमा क्षेत्रमा छ हजार ५४७ मिटर उचाइको नाङ्गामरी–१, छ हजार २०९ मिटर उचाइका नाङ्गामरी–२, छ हजार ८३९ मिटरको उचाइका ओहोमी गांका र छ हजार २४४ मिटरका पाबुक काङ (काङग्टा) पिक आरोहणका लागि सरकारले खुला गरेको छ ।

सिरिजंघा गाउँपालिकाको याम्फुदिन क्षेत्रमा पाँच वटा हिमाल आरोहणका लागि खुला गरिएको छ ।  आठ हजार ५८६ मिटर उचाइको कञ्चनजंघा प्रमुख, आठ हजार ४७४ मिटर उचाइमा रहेको दक्षिण कञ्चनजंघा, छ हजार १४८ मिटर उचाइको कोक्थाङ पिक, छ हजार ६८२ मिटरको रामथोङ पिक सरकारले आरोहणका लागि खुला गरेको छ । त्यस्तै सात हजार ४१२ मिटर उचाइका काब्रु सेन्ट्रल र सात हजार ३१८ मिटर उचाइको काब्रु  पिकसमेत आरोहणका लागि खुला गरिएको छ । फक्ताङलुङ गाउँपालिका–६ घुन्सा क्षेत्रमा ३७ वटा हिमाल/पिक आरोहणका लागि खुला गरिएको छ ।

जिल्लाको प्रमुख विश्वको तेस्रो अग्लो कञ्चनजङ्घा हिमाल यसै क्षेत्रमा पर्छ । यसको उचाइ आठ हजार ५८६ मिटर छ । सन् १८५२ सम्म यो हिमाललाई विश्वको सबैभन्दा अग्लो मानिएको थियो । तर, सन् १८४९ मा भारतको त्रिकोणमितीय सर्वेक्षणका अध्ययनअनुसार सगरमाथा सबैभन्दा अग्लो भएको पुष्टि भएपछि सन् १८५६ मा कञ्चनजंघालाई औपचारिक रूपमा विश्वको तेस्रो अग्लो हिमाल घोषणा गरियो । कञ्नजंघा हिमाल सन् १९५५ मा बेलायती पर्वतारोही जो ब्राउन र जर्ज ब्यान्डले २५ मेका दिन पहिलोपटक सफल आरोहण गरेका थिए । धार्मिक आस्थालाई सम्मान गर्दै उहाँहरूले हिमालको चुचुरो यथावत राख्ने परम्परा सुरु गरे, जुन आजसम्म पालना हुँदै आएको छ ।

कञ्चनजंघाको पाँच प्रमुख चुचुरा रहेका छन् । कञ्चनजंघा मुख्य आठ हजार ५८६, कञ्चनजंघा पश्चिम (यालुङ याङ) आठ हजार ५०५ मिटर, कञ्चनजंघा मध्य आठ हजार ४८२ मिटर, कञ्चनजंघा दक्षिण आठ हजार ४९४ मिटर र काङबाचेन सात हजार ९०३ मिटर रहेको छ । सरकारले यी पाँचवटै प्रमुख चुचुरामा आरोहण खुला गरेको छ ।