काठमाडौँ । काठमाडौँ महानगरपालिकाका उपप्रमुख एवं अनुगमन समितिका संयोजक सुनिता डंगोलले अनुगमनका क्रममा दिइएका निर्देशन तथा सुधारका लागि सुझावका कारण आएको परिवर्तन महसुस योग्य हुनुपर्ने बताएकी छिन् ।
बुधबार योजना, अनुगमन तथा मूल्याङ्कन एकाइले आयोजना गरेको अनुगमन प्रतिवेदनमाथिको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले, योजना तर्जुमा गर्दागर्दै कार्यान्वयन योजना बनाउने, योजना कार्यान्वयन थाल्दाथाल्दैदेखिका चरणहरूमा अनुगमन गर्ने, कार्य सञ्चालनका लागि आन्तरिक संवाद बढाउने, अभिलेखन र प्रतिवेदनलाई महत्त्व दिने प्रणालीको विकास गरेर गुणस्तर सुधारलाई संस्थागत गर्दै लगिने बताइन् ।
‘भौतिक पूर्वाधारसँग सम्बन्धित डिजाइन बनाउँदा आकाशे पानी पुनभरण, हरियाली प्रवर्धनलगायत वातावरणीय पक्षमा ध्यान दिनुहोला ।’ उनले कानुनी प्रबन्धका कारण देखिएका बेमेल र दोहोरोपनाको प्रसङ्गमा विभागीय प्रमुखहरूलाई निर्देशन दिँदै भनिन्, ‘क्षेत्रगत रूपमा देखिएका समस्यालाई मासिक प्रतिवेदनका रूपमा दस्ताबेज बनाउनू । यसलाई छलफलमा ल्याउनू । यसका आधारमा समाधान खोज्दै अगाडि बढ्नुपर्छ ।’
त्यस क्रममा सहरी योजना आयोगका उपाध्यक्ष डा.सुमननरसिंह राजभण्डारीले, नियमित र आकस्मिक अनुगमन बराबरी गर्नु पर्नेमा जोड दिँदै, भौतिक पूर्वाधार योजना कार्यान्वयनको पहिलो चरणबाटै अनुगमन थाल्ने प्रणालीमा जोड दिए । ‘निर्माण सम्पन्न भइसकेको योजना हेर्न जाँदा, हेर्नुबाहेक केही हुँदैन । कार्यान्वयनको चरणमा रहेको योजनामा सुधार गराउन सकिन्छ ।’ उनले भने ।
तेस्रो पक्षको मुल्याकंन
आर्थिक वर्ष २०७७/०७८ र ०७८/०७९ मा सम्पन्न योजनाको तेस्रो पक्षका दृष्टिबाट मूल्याङ्कन गर्दै पारागन इन्जिनियरिङ कन्सलटेन्सी एण्ड रिसर्च सेन्टरका प्रबन्ध निर्देशक नारायण रिजालले, महानगरपालिका र समुदाय मिलेर निर्माण गरेका संरचनाहरूको संरक्षण प्रणाली दिगो हुने देखिएको बताए ।
वडा नम्बर १८ किलाघः मा निर्माण गरिएको पुलुकिसि द्यःछेँ को उदाहरण दिँदै उनले भने, ‘यो भवनलाई स्थानीयले आफ्नै ठानेर संरक्षण गरिरहेको पायौँ ।’ योजना, अनुगमन तथा मूल्याङ्कन एकाइले कमलपोखरीको पार्क र सौन्दर्यीकरण, वडा नम्बर १५ मा निर्माण भएको मंका खल भवन, शिक्षण अस्पताल महाराजगन्जलाई सिटी स्क्यान खरिद गर्न प्रदान गरिएको सहयोग, वडा नम्बर २६ को प्रशासकीय भवन निर्माण, वडा नम्बर ४ धुम्वाराहीको तास्वा देग पुननिर्माणको मूल्याङ्कन गर्ने जिम्मेवारी दिएको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २१ फागुन २०८१, १२ : २१
लेखकबाट थप