अल्लोको कपडा बुनेर स्वरोजगार बन्दै महिला

सफल खबर संवाददाता

मंगलबार, २० फागुन २०८१, ०८ : ५८
अल्लोको कपडा बुनेर स्वरोजगार बन्दै महिला

मकवानपुर । मकवानपुरको थाहा नगरपालिका दामनका महिलाले स्वरोजगार बन्ने उद्देश्यले अल्लोको कपडा बनाउन थालेका छन् । वनमा जताजतै उपलब्ध हुने अल्लोको पाटबाट कपडा बुन्ने यहाँका स्थानीय महिलाले वार्षिक कार्यतालिका बनाएर काम गरिरहेका हुन् ।

तरकारीको मौसम सकिएपछि महिला वनमा गएर अल्लो ल्याउने र पाटबाट धागो बनाएर कपडा बुन्न व्यस्त हुने गरेका छन् । अहिले यहाँका महिला अन्य जिल्लामा अल्लोको पाट निकाल्न र धागोसहित कपडा बुन्न सिकाउन पनि जान थालेका छन् ।

लामो समयसम्म अल्लोको कपडा बनाउने तालिम लिएर काम गर्दै आएकी थाहा नगरपालिकाकी रेश्मा गोपालीले केही वर्ष अगाडि दामन महिला अल्लो ह्याण्डीक्राफ्ट उद्योग दर्ता गरेर समूहमा काम गर्न सुरु गरेको बताइन् ।

तरकारीखेतीका लागि पकेट क्षेत्र मानिने थाहा नगरकी उनले जग्गा हुनेका लागि खेतीपाती राम्रो भए पनि जग्गा नहुने वा थोरै हुनेका लागि आम्दानीको स्रोत खोज्न मुश्किल परेको भन्दै व्यावसायिक रूपमा अल्लोको कपडा उत्पादन सुरु गरेको जानकारी दिइन् ।

गोपालीले आफ्नो सबै ऊर्जा अल्लोको उद्यम उत्पादनमा लगाउने कोसिसमा रहेको जनाउँदै सुरुवाती दिनमा निकै सङ्घर्ष गर्नुपरेको अनुभव सुनाइन् । उनले भने, ‘खेती गर्न धेरै जग्गा छैन । जागिर पनि भने जस्तो नपाउने भएपछि वनमा पाइने सिस्नो जस्तै हुने अल्लोको पाटबाट कपडा बनाएर बेच्ने सपना देखेँसँगै मैले यसको तालिम लिएको थिएँ ।’ उनका अनुसार साथ र सहयोग प्राप्त भएमा स्थानीय अल्लोलाई एउटा उचाइमा लैजाने योजना छ ।

‘सिस्नो खाएको र स्वास्थ्यका लागि फाइदा हुने कुरा प्रायः सबैलाई थाहा छ तर सिस्नोबाट कपडा बनाएर लगाउँदा पनि फाइदा हुन्छ भन्ने धेरैलाई थाहा नहुनु सक्छ । वनमा छ्याप्पछ्याप्ती पाइने सिस्नो प्रजातिको अल्लोबाट कपडा बनाउने व्यवसाय सुरु गरेका छौँ । लुगा मात्र होइन यसबाट बनेको मोजा र जुत्तासमेत लगाउन पाइन्छ’, गोपालीले भनिन् ।

प्रतिक्रिया दिनुहोस