काठमाडौं। सैनिक कमाण्ड तथा स्टाफ कलेजमा गत वैशाख ३ गतेबाट शुरू भएको सि.सं.३१ कमाण्ड तथा स्टाफ तालिमको समापन गरिएको छ ।
बिहीबार उक्त तालिमको दीक्षान्त समारोह सम्पन्न भएको हो । दीक्षान्त समारोहका प्रमुख अतिथि प्रधानसेनापति अशोक राज सिग्देलले तालिम सफलतापूर्वक सम्पन्न गरेका शिक्षार्थी अधिकृतहरूलाई बधाई ज्ञापन गर्दै शुभकामना व्यक्त गरे ।
दीक्षान्त समारोहमा प्रधानसेनापति सिग्देलले तालिममा प्रथम हुने सेनानी साजन सिलवाललाई सर्वोत्कृष्ट शिक्षार्थी पुरस्कार र भारतीय सेनाका लेफ्टिनेन्ट कर्णेल अविजीत राँयलाई सर्वोत्कृष्ट अन्तर्राष्ट्रिय शिक्षार्थी अधिकृत पुरस्कार प्रदान गरे । साथै, कलेजको वार्षिक प्रकाशन शिवपुरी जर्नलको २६औं संस्करण विमोचन गरे ।
सोही कार्यक्रममा मास्टर्स इन स्ट्राटेजिक स्टडिस (एमएसएस) कार्यक्रमतर्फ प्रथम भएका सेनानी साजन सिलवाललाई त्रिभुवन विश्वविद्यालयका उपकुलपति केशरजंग बरालले र कमाण्डान्ट पेपरतर्फ प्रथम भएका सेनानी विवेक राई र सेनानी सिच्यान मोक्तानलाई निमित्त शिक्षाधिकृत सहायक रथी मनोज थापाले पुरस्कार प्रदान गरे ।
नेपाली सेनाका ५४ जना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, राष्ट्रिय अनुसन्धान विभागका १/१ जना तथा मित्रराष्ट्र बंगलादेश, चीन, भारत, केन्या, माल्दिभ्स, म्यानमार, नाइजेरिया, पाकिस्तान, संयुक्त अधिराज्य बेलायत र संयुक्त राज्य अमेरिकाका १/१ जना गरी १० विदेशीसहित जम्मा ६७ जना अधिकृतहरू उक्त तालिम सम्पन्न गरी दीक्षित भएका हुन् ।
२०४९ पुस १४ गते स्थापना भएको सो कलेजले २०५० भदौ २० गते १२ जना शिक्षार्थी अधिकृतहरू समावेश गरी पहिलो पटक कमाण्ड तथा स्टाफ तालिम थालनी गरेको थियो।
सन् २०१० बाट विदेशी शिक्षार्थीहरू सहभागी हुन शुरू भएको यस तालिमबाट हालसम्म नेपाली सेनाका १२२७, नेपाल प्रहरीका १६, सशस्त्र प्रहरी बल, नेपालका २८, राष्ट्रिय अनुसन्धान विभागका १९, रक्षा मन्त्रालयका १ र विभिन्न राष्ट्रहरूका १२४ गरी जम्मा १४१५ जना शिक्षार्थी अधिकृत प्रशिक्षित भएका छन् ।
उक्त कार्यक्रममा बलाध्यक्ष रथी, रथीवृन्द, पूर्वशिक्षाधिकृतहरू, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल र राष्ट्रिय अनुसन्धान विभागका ज्येष्ठ अधिकृत, रक्षा मन्त्रालयका सहसचिव, नेपालस्थित विभिन्न देशका सैनिक सहचारीहरू, कलेजको शैक्षिक गतिविधिसँग सम्बन्धित विभिन्न संस्थामा आबद्ध महानुभाव तथा अधिकृत र शिक्षार्थी अधिकृतका परिवारजनको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १५ फागुन २०८१, १६ : ४१
लेखकबाट थप