खानेपानी संस्थान कोमामा छ, नाफामा ल्याएरै छोड्छु : मन्त्री यादव

सफल खबर संवाददाता

विहीबार, १५ फागुन २०८१, १५ : १६
खानेपानी संस्थान कोमामा छ, नाफामा ल्याएरै छोड्छु : मन्त्री यादव

काठमाडौँ । खानेपानीमन्त्री प्रदीप यादवले नेपाल खानेपानी संस्थान कोमामा रहेको भन्दै नाफामूलक कसरी बनाउने भन्नेबारेमा गम्भीर हुन आग्रह गरेका छन् । बिहीबार काठमाडौँ नेपाल खानेपानी संस्थानको ३६ औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

मन्त्री यादवले घाटामा रहेको खानेपानी संस्थानलाई कसरी नाफामा ल्याउने भन्नेबारेमा सबैले गम्भीर भएर काम गर्नुपर्ने बताए । घाटामा रहेको संस्थानलाई नाफामा कसरी ल्याउने भन्नेबारेमा मन्त्रालय बसेर भएपनि नाफामा ल्याएरै छोड्ने उनले प्रतिबद्धता जनाए ।

उनले जायज कामहरूका लागि कोमाबाट निकाल्न मन्त्रालय अघि बढ्नैपर्ने बताए । पाइप फुटेको समस्या, फोहोर पानी आएको गुनासोहरू आम नागरिकले गर्ने गरेको भएपनि समाधान हुन एक महिना लाग्ने गरेको भन्दै उनले तत्काल समस्या समाधान गर्न संस्थानलाई निर्देशन दिए । कल सेन्टरको स्थापना गरेर भएपनि जनताका समस्या समयमै समाधान गर्न उनले निर्देशन दिए ।

सरकारले बनाएका पानी ट्याङ्कीमा नेपाल सरकार, खानेपानी मन्त्रालय नलेखिएको भन्दै मन्त्री यादवले अबदेखि सबै खानेपानी ट्याङ्कीमा नेपाल सरकार, खानेपानी मन्त्रालय लेख्न निर्देशन दिए । खानेपानी संस्थानलाई नाफामा लैजान गेम चेन्जर कार्यक्रमहरू ल्याउनुपर्ने उनले बताए ।

मन्त्री यादवले भने, ‘खानेपानी संस्थान कसरी अघि बढ्छ भन्ने चिन्ता छ । घाटामा रहेको संस्थान नाफामा कसरी आउँछ ? धेरै जसो शाखाहरू घाटामा नै छ । यो सेवाको भावनाले चलेको संस्थान भएको हुनाले र खानेपानी यस्तो महत्त्वपूर्ण कुरा हो । घाटामा रहेर पनि सञ्चालनमा राख्नुपर्छ । यसलाई मुनाफामा कसरी ल्याउने त्यसमा विचार गर्नुपर्छ ।

मन्त्री यादवले खानेपानी सेवा महसुल दरमा पुनर्विचार गर्नुपर्ने आवश्यकता रहेको उल्लेख गरे । उनले पानीको गुणस्तर र परिमाणमा वृद्धि गर्ने, खानेपानी महसुल समयानुसार समयानुकूल गर्ने अहिलेको आवश्यकता रहेको बताए । 

प्रतिक्रिया दिनुहोस