खानेपानी संस्थानको विनियमावली कार्यान्वयनमा लैजान मन्त्री यादवको निर्देशन

सफल खबर संवाददाता

आइतबार, १० चैत्र २०८१, १४ : २४
खानेपानी संस्थानको विनियमावली कार्यान्वयनमा लैजान मन्त्री यादवको निर्देशन

काठमाडौं । खानेपानीमन्त्री प्रदीप यादवले नेपाल खानेपानी संस्थानका कर्मचारीहरूलाई विनियमावली कार्यान्वयन गर्न निर्देशन दिएका छन् । आइतबार मन्त्रालयमा ‘कर्मचारी सेवा शर्त विनियमावली –२०८१’ सम्बन्धी जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा उनले कर्मचारीहरुलाई यस्तो निर्देशन दिएका हुन् ।

लामो समयदेखि रोकिएर बसेको कर्मचारी सेवा शर्त विनियमावली कर्मचारी हकहितका लागि लागू भएको मन्त्री यादवको भनाइ थियो ।‘मैले तपाईहरुको हकहितका लागि कर्मचारी सेवा शर्त विनियमावली २०८१ लागू गरेका छु । र यसलाई तपाईंहरूले कार्यान्यवन गरेर अगाडि बढ्नुस् ।

नेपाल सरकारको नियम कानून ऐनबारे हामीहरू अवगत नै छौँ,’ मन्त्री यादवले भने, ‘करारको हकमा के भनेको छ ? स्थानीयको हकमा के बोलेको छ ? करारको हकमा के बोलेको छ तपाईंलाई अवगत नै छ ।’विनियमावली नेपाल सरकारको नियम र कानूनमा रहेर कार्यान्वयनमा ल्याइएको बताउँदै उनले कर्मचारी हकतिका लागि विनियमावलीमा संशोधनको आवश्यकता देखिए थप्नुपर्ने सेवा सुविधाका बारेमा जानकारी दिन आग्रह गरे ।

नियम कानूनअनुसार कर्मचारीहरूको हकहितका लागि विनियमावलीमा संशोधन वा थप्नुपर्ने कुरा भए आफू तयार रहेको मन्त्री यादवको भनाइ छ ।

‘तपाईंहरूलाई लाग्छ कि करार कर्मचारीको हकहितमा कुनै कमजोरी छ कि भनेर पढौँ र फेरि बसौँ । मन्त्री र सचिवको ध्यानाकर्षण गरौँ कि कानुनमा कति थप्न सकिन्छ । कानुनविपरित त न म जानसक्छु न तपाईंहरू । कानूनसम्मत हुने कुरामा म तपाईंको साथमा छु,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस