सबैभन्दा धनी र नाफामा रहेको पार्टी एमाले, बाँकी दलले निर्वाचन आयोगमा बुझाए घाटाको हिसाब

सफल खबर संवाददाता

विहीबार, १५ फागुन २०८१, ११ : ५६
सबैभन्दा धनी र नाफामा रहेको पार्टी एमाले, बाँकी दलले निर्वाचन आयोगमा बुझाए घाटाको हिसाब

काठमाडौं । निर्वाचन आयोगमा राजनीतिक दलहरूले बुझाएको आर्थिक वर्ष २०८०/८१ वर्षको आय व्यय विवरण अनुसार नेकपा एमाले सबैभन्दा धनी मात्र नभएर नाफामा रहेको एक मात्र पार्टीका रूपमा देखिएको छ ।

पार्टी सदस्यता शुल्कदेखि जनप्रतिनिधि र राजनीतिक नियुक्ति पाएका व्यक्तिहरूबाट लिने लेबीसम्मको व्यवस्थित हिसाबकिताब राख्ने पार्टी एमाले सबैभन्दा चुस्त राजनीतिक दलका रूपमा देखिएको आयोगले जनाएको छ ।

एमालेले गत आर्थिक वर्षमा १४ करोड ७९ लाख ५ हजार आम्दानी गरेको छ । आयोगका अनुसार उक्त पार्टीले ७ करोड ८५ लाख रुपैयाँ खर्च गरेको छ भने करिब ७ करोड बचत गरेको छ । यस हिसाबले एमालेले यो वर्ष ६ करोड ९४ लाख रुपैयाँ आम्दानी गरेको छ ।

एमालेले सदस्यता शुल्कबाट मात्रै साढे ११ करोड रुपैयाँ आम्दानी गरेको छ । एमालेका ५ लाख सदस्य छन् । यस वर्ष नयाँ सदस्यता समेत थपिएको छ ।

त्यस्तै संसदको दोस्रो ठूलो पार्टी नेपाली कांग्रेस भने आम्दानीका हिसाबले नेकपा एस र रास्वपा भन्दा पनि कमजोर देखिएको छ । कांग्रेसले २ करोड ३२ लाख रुपैयाँ घाटा निर्वाचन आयोगमा पेश गरेको छ । उसको गत आर्थिक वर्षको आम्दानी जम्मा २ करोड ५९ लाख रुपैयाँ छ । खर्च ४ करोड देखाएको छ ।

त्यस्तै संसदको तेस्रो ठूलो दल नेकपा माओवादी केन्द्र आम्दानीको हिसाबले पाँचौँमा देखिएको छ । माओवादी केन्द्रको गत आर्थिक वर्षको आम्दानी १ करोड ८६ लाख ५३ हजार रुपैयाँ रहेको निर्वाचन आयोगले जनाएको छ । माओवादीले ५३ हजार घाटाको हिसाब देखाएको छ ।

त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीले गत आर्थिक वर्षमा ३ करोड ८० लाख रुपैयाँ आम्दानी गर्दा खर्च भने ६ करोड ५० लाख भएको लेखा परीक्षण प्रतिवेदन आयोगमा पेश गरेको छ ।

संसदमा १० सीट रहेको नेकपा एस आम्दानीका हिसाबले भने एमालेपछिको धनी देखिएको छ । तर उसको खर्च पनि उत्तिकै भएर घाटाकै हिसाब पेश गरेको छ । नेकपा एसको गत आर्थिक वर्षको आम्दानी ४ करोड २४ लाख ५३ हजार रुपैयाँ छ ।

खर्च पनि ४ करोड ५७ लाख देखाएको छ ।आयोगका अनुसार हालसम्म ८८ वटा राजनीतिक दलले आम्दानी खर्चको विवरण बुझाएका छन् ।

प्रतिक्रिया दिनुहोस