बागमतीका गरिबी निवारणमन्त्रीका स्वकीय सचिवको मृत्यु

सफल खबर संवाददाता

मंगलबार, १३ फागुन २०८१, १६ : ४४
बागमतीका गरिबी निवारणमन्त्रीका स्वकीय सचिवको मृत्यु

काठमाडौं। बागमती प्रदेशका सहकारी तथा गरिबी निवारणमन्त्री मदुकुमार श्रेष्ठका स्वकीय सचिव रवि थापाको मृत्यु भएको छ ।

सोमबार काठमाडौंको कलंकीस्थित अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको हो । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता, एसपी अपिल राज बोहराका अनुसार कलंकीस्थित साथीको डेरामा थापाले विष सेवन गरेका थिए ।

उनलाई उपचारका लागि कलंकीस्थित सहिद मेमोरियल अस्पताल लगिएको थियो । उपचारकै क्रममा सोमबार साँझ उनको मृत्यु भएको हो । 

 

 

 

 

 

प्रहरीले थापा सुतेको डेराबाट एउटा पत्र समेत प्राप्त गरेको छ ।  सो पत्रमा सहकारीको पैसा लेनदेनको विषयमा आफूलाई जोडिएको र त्यसले आफ्नो बेइज्जत भएको उल्लेख गरेका छन् । थापा गत शुक्रबार मन्त्री श्रेष्ठसँगै काठमाडौं आएका थिए ।

सुमेरु सहकारीका विषयमा गत आइतबार सार्वजनिक भएको अडियोका सन्दर्भमा थापाको नाम जोडिएको थियो । उक्त अडियोलाई लिएर जिल्ला प्रहरी कार्यालय धादिङले एक जनालाई पक्राउ गरेर सामान्य सोधपुछ गरेर छाडेको थियो ।

 

 

प्रतिक्रिया दिनुहोस