संस्कृतिमन्त्री पाण्डेको नेतृत्वमा पशुपतिमा प्रभातफेरी

सफल खबर संवाददाता

सोमबार, १२ फागुन २०८१, १३ : २८
संस्कृतिमन्त्री पाण्डेको नेतृत्वमा पशुपतिमा प्रभातफेरी

काठमाडौं । महाशिवरात्रि पूर्वसन्ध्यामा पशुपतिनाथ मन्दिर परिसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेको नेतृत्वमा प्रभातफेरी कार्यक्रम भएको छ ।

सोमबार पशुपति क्षेत्र विकास कोषको आयोजना गरिएको प्रभातफेरीमा सहभागी हुन संस्कृति राज्यमन्त्री अरुण चौधरीका साथ मन्त्री पाण्डे बिहान पशुपतिनाथ मन्दिर पुगेका थिए ।

प्रभातफेरीमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी सहभागी थिए। प्रभातफेरीमा कोषका पदाधिकारी, संस्कृत विद्याश्रमका विद्यार्थी, गुरु र स्थानीयको सहभागिता थियो ।पशुपति मूलढोकाबाट सुरु भएको प्रभातफेरी पिंगलास्थान, गौशाला र जयबागेश्वरी हुँदै मन्दिर परिसर परिक्रमा गरी पुनः मन्दिर मूलढोका पुगेर समापन भएको थियो । प्रभातफेरीपछि मन्दिर परिसर निरीक्षण गर्दै मन्त्री पाण्डेले पशुपति पुग्ने भक्तजनलाई सहज दर्शन व्यवस्था मिलाउन कोषलाई निर्देशन दिए । शिवरात्रि पूर्वसन्ध्यामा सोमबारमा पशुपति मन्दिरमा दर्शनार्थीको घुइँचो थियो । दर्शनार्थीलाई असुविधा नहोस् भनेर मन्त्री पाण्डे मूलमन्दिर परिक्रमा गरेर मात्र फर्किएका थिए ।

यसैबीच कोषले महाशिवरात्रिका लागि सबै तयारी पूरा भएको जानकारी दिएको छ । बुधबार (१४ फागुन) मा परेको महाशिवरात्रिमा नेपाल र भारत लगायत देशबाट साधुसन्त आउने क्रम जारी छ । साधुसन्तका लागि खानेबस्ने सुविधा प्रबन्ध गरिएको छ ।

शिवरात्रि (फागुन कृष्ण चतुर्दशी) मा आउने साधुसन्तलाई धुनीका लागि आवश्यक सबै प्रबन्ध मिलाइएको छ । शिवरात्रिको भोलिपल्ट औंसीका दिनमा उनीहरूलाई दक्षिणासहित बिदा गरिने छ।

महाशिवरात्रिका अवसरमा पशुपतिनाथमा मेला लाग्ने गर्छ । पशुपति दर्शनका लागि मन्दिर पुग्ने भक्तजनको सुविधाका लागि सम्पूर्ण तयारी पूरा गरिएको कोषले जानकारी दिएको छ ।

 

प्रतिक्रिया दिनुहोस