एजेन्सी । अस्ट्रेलियाले इंग्ल्यान्डविरुद्ध शनिबारको खेलमा रोमाञ्चक जित दर्ता गरेको छ। पाकिस्तानको लाहोरस्थित गद्दाफी स्टेडियममा भएको च्याम्पियन्स ट्रफीमा ३५२ रनको लक्ष्य ४७.३ ओभरमा मात्र पाँच विकेट गुमाएर पूरा गर्दै अस्ट्रेलियाले रोमाञ्चक जित निकालेको हो।
३५२ रनको विशाल लक्ष्य पछ्याएको अस्ट्रेलियाले १५ बल बाँकी रहँदा ३५६ रन जोडेको हो । यो खेल ऐतिहासिकसमेत बनेको छ। आईसीसीका खेलमा अस्ट्रेलियाले पार गरेको यो सबैभन्दा ठूलो लक्ष्य हो।
३५२ रनको लक्ष्य पूरा गर्ने क्रममा अस्ट्रेलियाका जोश इंग्लिसले सर्वाधिक १२० रन बनाए। मात्र ८६ बल खेलेका उनले ६ चौका र ६ छक्का प्रहार गर्दै १२० रनको विजयी पारी नट आउट खेलेका हुन्।
अन्तिममा आएका ग्लेन म्याक्सवेलले १५ बलमा ४ चौका र २ छक्काको मद्दतमा नट आउट ३२ रन बनाउँदै महत्त्वपूर्ण योगदान दिए।
उसका लागि एलेक्स क्यारीले ६३ बलमा ८ चौका प्रहार गर्दै ६९ रन बनाए भने ओपनर म्याथ्यु सटले ६६ बलमा ९ चौका र १ छक्का प्रहार गरी ६३ रनको योगदान दिए। मार्नस लाबुसेनले ४५ बलमा ५ चौका हानेर ४७ रन जोड्दा आक्रामक ओपनर ट्रेभिस हेड भने ६ रनमै आउट भएका थिए। अस्ट्रेलियाका कप्तान स्टेभेन स्मिथ भने ५ रनमा समेटिएका थिए।
बलिङतर्फ इंग्ल्यान्डका जोफ्रा आर्चर, मार्क वुड, ब्राइडन कार्स, आदिल रसिद र लियाम लिभिङस्टोनले एकएक विकेट हात पारे।
टस हारेर पहिले ब्याटिङ गरेको इंग्ल्यान्डले ८ विकेटको क्षतिमा ३५१ रनको योगफल खडा गरेको थियो। इंग्ल्यान्डका बेन डकेटले १४३ बलमा १६५ रन जोडे। उनले १७ चौका र ३ छक्का प्रहार गरे। अस्ट्रेलियासामू उनको ऐतिहासिक र विशाल शतकीय इनिङको कुनै सीप चलेन । जोय रुटले अर्धशतकीय इनिङ खेल्दै ६८ रन जोडे भने कप्तान जोश बट्लर २३, जोफ्रा आर्चर २१, जेमी स्मिथले १५ र लियम लिभिङस्टोनले १४ रन जोडेका थिए।
इंग्ल्यान्डविरुद्ध अस्ट्रेलियाका बेन द्वारश्वीसले तीन विकेट हात पार्दा एडम जम्पा र मार्नस लाबुसेनले २–२ तथा ग्लेन म्याक्सवेलले १ विकेट हात पारे।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
आइतबार, ११ फागुन २०८१, ०७ : १५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
इंग्ल्यान्डका तीन खेलाडीले लिए राष्ट्रिय टोलीबाट नाम फिर्ता