काठमाडौँ । हमासले आज ६ जना इजरायली बन्धकलाई रिहा गर्दैछ । इजरायली सञ्चारमाध्यमका अनुसार शनिबार रिहा हुने ६ जनाको सूची हमासले इजरायललाई पठाएको छ ।
‘टाइम्स अफ इजरायल’का अनुसार मुक्त हुने सूचीमा ३७ वर्षका अवेरा मेंगिस्तु, ३७ वर्षकै हिशाम अल सैयद, ३९ वर्षका तल शोहम, २७ वर्षका एलिया कोहेन, २३ वर्षका ओमर वेंकर्ट र २२ वर्षका ओमर शेम–तोभ रहेका छन् । उनीमध्ये अवेरा र हिशाम २०१४ देखि नै हमासको नियन्त्रणमा रहेका छन् । बाँकी चार जनालाई भने सन् २०२३ को अक्टोबर ७ इजरायलमाथि आक्रमण हुँदा हमासले बन्धक बनाएर गजा पुर्याएको थियो ।
हमासले ६ जना बन्धक छाडेको बदलामा इजरायलले ६०२ जना प्यालेस्टिनी कैदीहरूलाई जेलमुक्त गर्नेछ । यसअघि हमासले ६ जना बन्धक छाडिसकेको छ भने इजरायलले १०९९ जना प्यालेस्टिनी कैदीलाई जेलमुक्त गरेको छ ।
हमासले बिहीबार चार जना इजरायली बन्धकको शव बुझाएको थियो । तर, तीमध्ये एउटा शव बन्धकको नरहेको खुलेको थियो । इजरायली अधिकारीले जसको भनिएको हो, उसकै शव पठाउन हमासलाई चेतावनी दिएको छ । इजरायल र हमासबीच माघ ५ गते ४२ दिनको पहिलो चरणको युद्धविराम घोषणा गरेका थिए ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
शनिबार, १० फागुन २०८१, ११ : २३
लेखकबाट थप