एउटै वडामा तीन जलविद्युत् आयोजना निर्माण सुरु

सफल खबर संवाददाता

शनिबार, १० फागुन २०८१, १० : १९
एउटै वडामा तीन जलविद्युत् आयोजना निर्माण सुरु

म्याग्दी । म्याग्दीको धौलागिरि गाउँपालिका– ४ मुदीमा तीनवटा जलविद्युत् आयोजना निर्माण सुरु भएको छ । धौलागिरि हिमालको फेदीबाट बग्ने म्याग्दी नदीबाट एक सय ५५ मेगावाट क्षमताको तीन जलविद्युत् आयोजना निर्माण सुरु भएका हुन् ।

ऊर्जा डेभलपर्स प्रालि अन्तर्गत म्याग्दी हाइड्रोपावर लिमिटेड प्रवर्द्धक रहेको ५३ दशमलव पाँच मेगावाट क्षमताको अपर म्याग्दी– १ जलविद्युत् आयोजनाले पूर्वाधार सुरू गरेको छ भने हाइड्रो भिलेज प्रवर्द्धक रहेको ६५ मेगावाट क्षमताको म्याग्दीखोला जलविद्युत् आयोजनाले पहुँचमार्ग निर्माणलाई तीव्रता दिएको छ ।

त्यसैगरी हाइड्रो इम्पायर प्रालि प्रवर्द्धक रहेको ३७ मेगावाट क्षमताको अपर म्याग्दी जलविद्युत् आयोजनाले समेत सुरुङ निर्माणको तयारी गरेको छ । म्याग्दी नदीसँगै यसका सहायक गुर्जाखोला र मुदी खोलामा विभिन्न आठ वटा जलविद्युत् आयोजना दर्ता भएकोमध्ये तीन वटा आयोजनाको निर्माण काम अघि बढेको धौलागिरि गाउँपालिका अध्यक्ष प्रेमप्रसाद पुनले बताए ।

मुदीको खाम्लामा बाँध र मालिका गाउँपालिका– ७ भारवाङमा  विद्युतगृह  रहने अपर म्याग्दी– १ जलविद्युत् आयोजनाले पहुँचमार्ग निर्माण सकेर सुरुङ र बाँधतर्फका पूर्वाधार निर्माण सुरु गरेको छ । २०८१ साल वैशाख २८ गतेदेखि पूर्वाधार निर्माण सुरु गरेको आयोजनाले कूल पाँच किलोमिटर सात सय मिटर सुरूङमध्ये पाँच सय ३० मिटर सुरुङ निर्माण सकिएको आयोजना प्रमुख ज्योतिकुमार केसीले बताए ।