‘सबैले सोध्छन् जीवन काँडा कि फूल ? जीवनलाई जस्तो बनायो त्यस्तै हुन्छ । मलाई त फूलले फूल बनाएको छ । मेरो जीवनमा फूलले बहार ल्याएको छ । मलाई लाग्छ, फूलले कसैलाई काँडा बनाउँदैन । फूलले फूल नै बनाउँछ ।
फूलले कसैलाई काँडा बनाउन जानेकै हुँदैन । फूलसँग भएको काँडा त उसको आत्मरक्षक हो । यो धर्तीमा आत्मरक्षक नगर्ने सजीव प्राणी को होला ? फूलसँग संगत गर्ने जोकोहीको जीवन फूलजस्तै हुन्छ । मेरो बाटो फूलले मोडिदिएको हो । मेरो जीवन फूलफूलको थुँगा हो...।
फूलको विषयमा एउटा सानो प्रश्न झर्न नपाउँदै फूल उत्पादक किसान प्रकाश पन्तले धारावाहिक रुपमा यसरी फूलको वर्णन गर्न भ्याए । फ्लोरिकल्चर एशोसिएसन चितवनका अध्यक्षसमेत रहेका पन्तलाई फूलले बाटो बदलिदियो ।
अहिले उनी फूलको बाटैबाटोमा हिँडेका छन् । विभिन्न पेशा अँगाल्दै ढुंगैढुंगाको गेगरमा दौडिएका पन्त अहिले फूलैफूलको सुन्दर बाटोमा दौडिरहेका छन् । उनी भन्छन्, ‘अब त मलाई फूलले अन्तै जानै दिँदैन । कसैको दिल पोखरामा होला, कसैको दिल प्रेमिकामा होला तर मेरा दिल छ फूलफूलको संसारमा छ ।’
आहा ! क्या सुन्दर हुन्छ फूल । मनलाई प्रफुल्लित बनाउँछ । कोपिलामै रमाउँछ । रोएको मनलाई हसाउँछ । सबैलाई आफ्नो बनाउँछ । हुरी, बतास, पानीको कष्ट र पीडालाई सहेरै भए पनि अरुलाई सुगन्धको वर्षा छरिदिन्छ । भमराहरु भुरुभरु...।
‘जस्तो मै हुँ भन्ने साहित्यकारले पनि फूलको वर्णन गर्न सक्दैन । एउटा फूललाई सन्तानजसरी लालनपालन गर्ने किसानले यहाँ भन्दा कति वर्णन गर्न सक्नु !’ उनी गुनासिए र फूलले कसरी आफ्नो जीवनलाई मोडेर यहाँसम्म ल्यायो त्यतातर्फ ढल्किए ।
००००००००
हालको गुल्मी छत्रकोट गाउँपालिकाको हर्दिनेटामा उदाएका प्रकाश पन्तको जीवनले केही समय पोखरा र बुटवलमा बितायो । केही गर्नैपर्छ, आफ्नो खुट्टामा आफैँ उभिनुपर्छ भन्ने सोच उनको बचपनमै थियो । गाउँमा हाइस्कुल पढ्दा उनी मध्यमस्तरको विद्यार्थी हुन् । तर बाल्यकालदेखि नै नयाँ सोचका उर्जा थिए । अरु साथीहरु बाल्यकालमै चिल्ला पात थिए, तर उनी खस्रा पात । हाइस्कुलमा न कुनै पुरस्कार जिते न राम्रो अंक नै ल्याएर पास भए ।
जसोतसो एसईई सकेपछि पोखरा आए पढ्न । उनको चिल्लो पात पछि पो देखियो । उनी भन्छन्, ‘प्रविणता प्रमाणपत्रमा मेरो पढाइले पुरस्कार जित्यो, उत्कृष्टतामा दरिए ।’ प्रविणता प्रमाणपत्रदेखि नै उद्यमशील काम केही गर्नुपर्छ भन्ने भुटभुटी उनमा चलिसकेको थियो । तर के गर्ने ? एउटा १७ वर्षको जँुगाको रेखी पनि बसिनसकेको ‘किशोर उमेर’मा उनका परिवारले पढाइबाहेक अरु देखेन ।
केही गर्नुपर्छ भन्ने भुटभुटी चल्दाचल्दै उनी पोखराबाट बुटवल हानिए । अंग्रेजी विषय लिएर बिए पढ्न थाले । मनमा आएको एउटा भुटभुटीले उचाल्यो । बुटवलमा किराना पसल थापे । उनी भन्छन्, ‘अर्काको सामान कति बेच्नु, वाक्क दिक्क लाग्यो ।’
आफैँ उद्यमी बनेर अरुलाई रोजगार दिनुपर्छ, समाजमा यति धेरै युवाहरु विदेश भासिएका छन् अनि गाउँघरमै थुप्रै युवा बेकामे भएर बसेका छन् । आफूमात्रै रोजगारी भएर कहाँ हुनु ? उनको मनमा यस्तैयस्तै भावनाले जरो गाड्यो । अनि बुटवलमै अगरबत्ती उद्योग खोले ।
पढ्दै, उद्योग चलाउँदै । अगरबत्ती उद्योग चलाउँदा पनि उनी सन्तुष्ट भएनन् । उद्योग चलाउँदा उनले केही युवालाई रोजगार दिन सके तर उनी सन्तुष्ट भएनन् । उनी भन्छन्, ‘अगरबत्तीको कच्चा पदार्थ आफैँले उत्पादन गर्न सकिएन, अरुकै भर पर्न पयो अनि यो पेशामा पनि मन पुलकित हुन सकेन ।’
००००००००
अगरबत्ती उद्योगको सामान लिन दिल्ली जाँदा कर्नाटप्लेसमा एउटा ठूलो फूलको होलसेल पसल देखे उनले । कुरा २०५२/०५३ सालतिरको हो । कर्नाटप्लेसमा एउटा ठूलो फूलको होलसेल पसलमा फूल खरिद गर्नेहरुको ठूलो भीड लागेको थियो । काठमाडौँका नेपालीहरु पनि फूल खरिद गर्नको लागि लाइनमै थिए । फूल किन्नेहरुको जमात देख्दा लाग्थ्यो, यहाँ कुनै मेला भइरहेको छ ।
त्यस्तो दृष्यदेखेपछि त्यतिबेला उनको मनमा एउटा चस्का पस्यो । उनलाई लाग्यो, फूल खेती नेपालमा किन गर्न सकिन्न ? नेपालीहरु फूल खरिद गर्नका लागि किन दिल्लीआइरहेका छन् ? यही प्रश्नले उनलाई पिरोल्न थाल्यो । अगरबत्ती उद्योगमा अब उनका मन जान छोड्यो । फूलको संसार पो देख्न थाले उनले । सुन्दर फूलको कल्पनामा कताकता हराउन थाल्यो उनको मन । उनको आँखाभरि फूल यसरी नाच्न थाल्यो, अब फूलबाहेक अरु केही छैन । उनी भन्छन्, ‘दिल्लीको होलसेल फूलको पसलमा लागेको मेलाले मेरो बोटो मोडियो ।’
बुटवलमा स्नातकको पढाइ पूरा भयो । अगरबत्ती उद्योग बेचिदिए । मास्टर्स पढ्न काठमाडौँ आए । कीर्तिपुरमा मास्टर्स पढ्नको लागि भर्ना भए । भर्ना त भए तर पढाइमा भन्दा मन फूलमा जान थाल्यो । उनी काठमाडौँका हरेक फूल पसलमा पुगेर फूलको अध्ययन गर्न थाले ।
उनी भन्छन्, ‘२०५६ सालमा काठमाडौँका हरेक फूल पसलमा म पुगेको छु, कहाँबाट फूल ल्याउनुहुन्छ, कतिमा बेच्नुहुन्छ यस्तो हरेक जिज्ञासाको उत्तर खोज्दै भौतारिएँ । अरुको ब्राण्डमात्र कति बेच्नु आफ्नै ब्रान्ड बेच्नको लागि मनमा यसरी हुरी चल्यो, यो हुरीलाई कसलै रोक्न नसक्ने भयो ।’
उनी २०५६ सालभरि काठमाडौँमा फूल उत्पादन गरे खरिद गरिदिने मानिसहरु बनाउन हिँडे । ‘जति फूल उत्पादन गरे पनि खरिद गरिदिने व्यवसाय बनाएपछि फूल उत्पादन त गर्ने, तर कहाँ ? यसको छटपटी हुन थाल्यो’ उनी गुनासिए ।
००००००००
जाडोमा शितलहर नचल्ने र गर्मीमा तातो हावा नचल्ने ठाउँको खोजीमा लागे उनी । खोज्दै जाँदा उनले त्यस्तो ठाउँ चितवन हो भन्ने पत्ता लगाए । उनी भन्छन्, ‘फूल खेती हुनको लागि शितलहर नचल्ने र तातो हावा नआउने त्यस्तो ठाउँ चाहिन्छ । त्यस्तो ठाउँ खोज्दै जाँदा चितवन फेला पारेँ । हुन त दाङ, मकवानपुर पनि त्यस्तो ठाउँ हो तर सबै किसिमको सुविधाको लागि मैले चितवन रोजे ।’
२०५७ सालमा चितवनको गुञ्जनगरमा १० बिघा जग्गा ५ वर्षको लागि लिजमा लिए । त्यतिबेला वार्षिक ७० हजार भाडा तिर्ने गरी जग्गा त लिए । फूलको बिरुवा कहाँबाट ल्याउने ? फेरि मनमा अर्को हुरी चल्यो । दिल्ली गए बिरुवा लिन । पहिलो वर्ष एक विघामा मात्रै फूलखेती गरे । बाँकी ९ बिघामा मकै, तरकारी ।
पहिलो वर्ष एक विघामा फूलखेती गर्दा ५ लाख लगानी गरे । लगानी बालुवामा पानी भयो । जम्मा १ लाख २५ हजारको फूलमात्र बेचे । उनी गुनासिए, ‘फूल उत्पादन नै भएन, किन्ने व्यवसायी जति नै थिए, तर उत्पादन नै नभएपछि कसको के लाग्छ र ?’
उनलाई लाग्यो, पहिलो वर्ष यस्तै हो । अनुभव हुँदैछ । हरेश खाएनन् । बारी छोडेर भागेनन् । धैर्यता अपनाए । जोशजाँगर र सीप देखाए । दोस्रो वर्ष थप लगानी गरे । डेढ बिघा जमिनमा फूलखेती गरे । तर पनि सोचेजस्तो भएन । उनी भन्छन्, ‘पहिलो वर्षभन्दा राम्रो तर लगानीअनुसारको आम्दानी अझै आएन ।’
तेस्रो वर्ष २ बिघामा गरे फूलखेती । राम्रो भयो । लगानी वालुवामा पानी भएन । छाँटकाँट राम्रो देखियो । तेस्रो वर्षमा पुगेपछि उनलाई लाग्यो, अब फूलले मलाई चिन्यो, फूलले अब बाटो देखायो । अब पछाडि फर्कनुपर्दैन ।
तर सोचजस्तो कहाँ हुन्छ र जीवन । राम्रो भएको फूलखेती २०६३ सालमा ठूलो नोक्शान भयो । छाँगाबाट खसेजस्तो भए उनी । ५ बिघामा लगाएको फूलखेती असिना हुरी बतासले सखाप भयो । उनी भन्छन्, ‘जनआन्दोलनको मारमा पनि परेको थियो, आन्दोलन सकियो गाडी चले भोलि टिपौँला भनेर कामदार खोजेँ । रातिको हावाले सखाप भयो । यसअघिको कमाइ एक रातमा स्वाहा !
उनको मन पनि फूलजस्तो छ । कोपिलामै झरेको फूलले उनलाई पटकपटक रुवाएको छ । ‘बारीमा कोपिलामै खसेको फूलले मलाई रुवाएको छ, उनी भन्छन्, ‘मैले फूललाई यति मायाँ गर्छु, कुनै वर्णन गर्नै सक्दिनँ, मैले भगवानसँग एउटै कुरा माग्छु, त्यो हो कोपिलामै कुनै फूल नखसोस् । फूल जतिबेला पनि चाहिन्छ, यस्तो पेशामा लाग्न पाउँदा आफूलाई ज्यादै भाग्यमानी ठानेको छु ।’
सबै आफ्नो पेशाप्रति सन्तुष्ट छैनन् । कति आफ्नो जीवनदेखि नै निराश छन् । तर उनी सन्तुष्ट छन् । खुसी छन् । प्रेरणाका स्रोत भएका छन् । जीवनका मार्गदर्शन बनेका छन् ।
००००००००
२०७५ सालसम्म आइपुग्दा उनी फूलखेतीमा लागेको १८ वर्ष पूरा भएको छ । अहिले उनले २२ बिघामा फूलखेती गरेका छन् । ग्लाडिओलस, गोदावरी, गुलाब, जिप्सीफिलालगायतका फूल रोपेका छन् । उनको फूल स्वदेशमा मात्र होइन विदेशमा पनि जान्छ । यूएई, कतार, भारतलगायतमा देशहरुमा उनको फूल जान्छ । कतिपय काठमाडौँका व्यवसायीहरु उनको फूल किन्न बारीमै आउँछन् ।
झन्डै १०० जनालाई उनले रोजगार दिएका छन् । उनले चितवनमा फूलखेती सुरु गर्दा रत्ननगरका नारायण आचार्यले मात्र फूलखेती गरेका थिए । अहिले उनको सिको गर्दै जिल्लामा फूलखेती गर्ने मानिस थप्रै भइसकेका छन् ।
उनी फूलको बिरुवा आफैँ उत्पादन गर्छन् । उनी भन्छन्, ‘हिजो अगरबत्तीको कच्चापदार्थ आफैँ उत्पादन गर्न सक्थिनँ, आज फूलको बिरुवा आफैँले उत्पादन गर्न सक्छु ।’
गर्त वर्ष उनले २ करोडको फूलको कारोबार गरेका थिए । अहिले उनले झन्डै ३ करोडको कारोबार गर्ने लक्ष्य लिएका छन् । उनी भन्छन्, ‘फूल खरिदको लागि बाहिर जाने ३ करोड अहिले नेपालीको हातहातमा पुगेको छ, यही नै मेरो सबैभन्दा ठूलो उपलव्धि हो ।’
अहिले उनी नारायणगढ क्षेत्रपुर निवासी हुन् । उनी फूलको कमाइले चलेका छन् । यतिबेला फूलले वार्षिक २० लाख दिएको छ उनलाई । छुट्टिने बेला उनी भन्छन्, ‘चार चीज कुनै हालतमा नछाडे सफलता पाइन्छ । ती हुन्, धैर्यता, लगनशील, समर्पित र इमान्दार ।’
प्रतिक्रिया दिनुहोस
बाबु कृषभ
शनिबार, १७ कार्तिक २०७५, १३ : ४७
लेखकबाट थप