काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र (बालेन) साहले चित्रकला र संगीतले विद्यार्थीको सिर्जनात्मकतालाई उजागर गर्ने बताएका छन् । बुधबार काठमाडौँ महानगरपालिका–७ ले आयोजना गरेको पिएल सिंह चित्रकला प्रतियोगिता कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
प्रमुख साहले विद्यार्थीको धेरै समय विद्यालयमा बित्ने उल्लेख गर्दै पढाई बाहेकका सृजनात्मक कार्यक्रममा समेत सहभागिता बढाउनुपर्ने बताए । उनले चित्रकलाले विद्यार्थीको लिडरसिप क्षमताको विकास गर्नेमा समेत सहयोग पुर्याउने बताए ।
प्रमुख साहले महानगरका प्रथम मेयर प्रेमलाल सिंहबारे विद्यार्थीहरूलाई सिकाउन जरुरी रहेको समेत बताए । उनले प्रथम मेयर सिंहले काठमाडौँ महानगरमा विकासको ढोका खोल्ने काम गरेको उल्लेख गरे ।
उनले भने, ‘काठमाडौँ महानगरपालिकाका प्रथम मेयर प्रेमलाल (पिएल) सिंहज्यू एकदमै भिजिनरी हुनुहुन्थ्यो । उहाँको नाममा आयोजित यो कार्यक्रममा आउन पाउँदा झनै खुसी लागेको छ । उहाँको बारेमा स्कुलका नानिबाबुहरुलाई पनि सिकाउन पाइयो भने भोलिको दिनमा उहाँहरूलाई पनि एउटा प्रेरणा हुन्छ ।
लिडरसिपको प्रेरणा पनि चाहिन्छ ।’प्रमुख साहले महानगरले विद्यार्थीलाई सिर्जनात्मक क्रियाकलापमा सहभागी गराउन विभिन्न शैक्षिक कार्यक्रमहरू गर्दै आएको समेत बताए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०७ फागुन २०८१, १४ : २५
लेखकबाट थप