किन असहिष्णु बन्दैछ्न प्रधानमन्त्री ओली !

आलोचना सुन्न किन डराउँछन् ?

सफल खबर संवाददाता

सोमबार, ०५ फागुन २०८१, ०८ : ४८
किन असहिष्णु बन्दैछ्न प्रधानमन्त्री ओली !

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आलोचनाबाट डराउँछन् भन्ने तथ्य फेरि एकपटक आइतबार प्रतिनिधीसभामा देखिएको छ ।

देशको कार्यकारी प्रमुखलाई सदनप्रति थप जवाफदेही बनाउन सुरु गरिएको ’प्रधानमन्त्रीसँग प्रश्नोत्तर’ कार्यक्रममा प्रधानमन्त्री ओलीले आफुसँग असहमत पक्षको जवाफ नै दिन चाहेनन् ।

उनी आफनो प्रशंसामात्र रुचाउँछन्, आलोचना सुन्न चाहादैनन भन्ने तथ्य फेरि एकपटक उनले संसदमा देखाए । प्रमुख प्रतिपक्षी दलका नेताले संसदमा सम्वोधन गर्दा कार्यकारी प्रमुख प्रधानमन्त्री संसदमा अनिबार्य हुनैपर्ने संसदीय परम्परालाई समेत भत्काईसकेका प्रधानमन्त्री ओली एकपछि अर्काे आलोचकमाथी उल्टै आक्रामक हुन थालेबाट उनमा सहनशीलता नदेखिएको विश्लेषण राजनीतिक बृत्तमा हुन थालेको छ ।

झापा आन्दोलनदेखि नै केपी ओलीका संगत गरेका नेताहरु ओलीका बारेमा टिप्पणी गदै भन्ने गर्थे, –’केपी ओली खोपीमा राखेको पुस्तकजस्तै हुन्, उनलाई छुन हुँदैन, उनलाई पढ्न हुँदैन । हुन्छ त केवल पूजा मात्र गर्न हुन्छ ।’

आलोचकहरुसँग अनुदारबादी र असहिष्णु बन्ने गरेको आरोप ओलीमाथी लाग्ने गरेको छ । उनले आइतबार संसदमा त्यही रवैया देखाए । ‘प्रधानमन्त्रीले आफुमाथी जस्तो सुकै आलोचना भएपनि त्यसको तथ्य र सत्यमा आधारित जवाफ दिएर आलोचकलाई मथ्थर पार्नुपर्ने हुन्थ्यो, तर प्रधानमन्त्री ओली आलोचनाबाट सधैजसो डराउने गरेका छन्, आइतबार संसदमा प्रभु शाहले प्रश्न गर्दा पनि त्यस्तै देखिए,’ राजनीतिक विश्लेषक श्याम लोहनी भन्छन्, ‘यो उनमा विपक्षीमाथी देखिएको असहिष्णु ब्यवहार हो ।’

ओली आइतबार संसदमा मुख्यतः दुई जना सांसदसाग असहिष्णु देखिए । आम जनता पार्टीका नेता सांसद प्रभु शाह र एकीकृत समाजवादीका सांसद प्रकाश ज्वालाले सोधेका प्रश्नमा प्रधानमन्त्री अनुदार देखिएका हुन् । प्रभु शाहले सोधेका प्रश्नको त प्रधानमन्त्रीले जवाफ नै दिन चाहेनन भने ज्वालाको प्रश्नमा पनि उल्टै प्रश्नकर्तामाथी नै प्रश्न उठाउने काम प्रधानमन्त्रीले गरे ।

प्रधानमन्त्री ओलीले जतिपटक आफु प्रधानमन्त्री भए, त्यक्तिनै पटक काम भन्दा गफ बढी दिए । प्रचारमा मात्र भोका रहेका ओलीले सरकारका कामलाई जति प्रचारात्मक बनाएपनि प्रभावकारी नदेखिएपछि उनी आफनो आलोचना गर्नेहरुमाथी अनुदार बनेर प्रस्तुत हुने गरेका कयौं घटनाक्रम छन् ।

यतिसम्मकी प्रधानमन्त्री केपी शर्मा ओली आफैं त्यस्ता परीक्षार्थी बन्न रुचाउँछन्, जो आफ्नो उत्तरपुस्तिका आफैँ जाँच्न रुचाउँछन् ।

ओली कतिसम्म असहिष्णु र कुण्ठित छन् भन्ने कुराको एउटा उदाहरण कुलमान घिसिङ प्रकरण हेरे पुग्छ । कुलमानको कार्यकुशलता प्रधानमन्त्री ओलीलाई अहिलेमात्र होइन, अघिल्लो पटक प्रधानमन्त्री हुँदा देखि नै मन परेको छैन । कुलमानको वाहवाही ओलीलाई आफ्नै बहिखातामा जोड्न ओली चाहान्थे । तर जनताले त्यसलाई नरुचाएपछि उनी कुलमान विरुद्द नै खनिन थालेका हुन् । त्यो क्रम आजसम्म ओलीको जारी छ ।

आफुभन्दा अब्बल कसैको गुणगान र वाहवाही चल्यो भने प्रधानमन्त्री ओलीलाई पेट पोलिहाल्छ । त्यसपछि उनी त्यस्ता नेता, प्रशाशक जो भएपनि अनुदार शैलीमा आलोचनामा उत्रिहाल्छन् । ‘यो ओलीको पूरानै बानी हो,’ उनीसँग संगत गरेका र लामो जेल जीवन पनि सँगै विताएका बाम नेता राधाकृष्ण मैनाली भन्छन्, ‘ओली इखालु र असहष्णिु स्वभावका छन्, जो अरुको प्रशंसा रुचाउँदैनन्, आफनो आलोचना सुन्नै चाहादैनन ।’

ओली तर्क, आलोचना, बहस र विरोधप्रति पूर्णतया असहिष्णु र अधिनायकवादी बनेका छन्। उनले पार्टीभित्रै आन्तरिक लोकतन्त्रको मुख थुनेका छन् । पार्टीमा आफुसँग प्रतिस्पर्धा गरेका नाममा ओलीले भीम रावललाई पार्टीमा ढिम्किनै दिएनन । अन्ततः पार्टीबाटै निश्काशन गरेर पार्टीमा आफनो आलोचना पाच्य नभएको सन्देश दिएका छन् । आफनो निर्णयमा असहमति राख्ने नेतृहरु विन्दा पाण्डे र उषाकिरण तिमिल्सनालाई उनले पार्टीभित्रै निलम्बनको अवस्थामा राखे । यसबाट पनि देखिन्छ ओली पार्टीभित्र होस् या बाहिर आफनो आलोचनालाई स्वीकार गदैनन् भन्ने तथ्य पुष्टि गर्छ ।

आफुलाई कसैले आलोचना गरेमात्र पनि आक्रामक हुने ओली आफै फेरि अरुमाथी भने तीव्र घृणायुक्त टिप्पणी गर्न छोडदैनन । केही समय पहिले राष्टिय स्वतन्त्र पार्टीकी सांसद पूर्व शिक्षामन्त्री सुमना श्रेष्ठमाथी उनले गरेको टिप्पणी त्यस्तै मध्येको एक हो । आफू प्रधानमन्त्री भएकै बेला आफैंले बुझेर पनि स्वार्थ समूहको प्रभावमा गुपचुप बनाएको एउटा प्रतिवेदन सार्वजनिक गर्ने तत्कालिन शिक्षामन्त्री सुमनाको प्रयासले ओलीलाई झस्काएपछि उनले सुमनामाथी पनि तिखो आलोचना र असहिष्णु टिप्पणी गरेका थिए ।

‘आफु प्रतिपक्षमा हुँदा खरो आलोचक बन्ने ओली आफु सत्तामा हुँदा भने विपक्षीसम्मले धाप लगाईरहा्ेस् भन्ने मनोबृत्ति बोकेर बसेको देखिन्छ’ विश्लेषक लोहनी भन्छन्,‘सत्तामा बसेर पछिल्ला दिनमा उनले जुन खेल जारी राखेका छन्, त्यसले उनको दुस्खको महासागरतर्फ संकेत गर्छ।’

प्रतिक्रिया दिनुहोस