काठमाडौँ । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)को अध्यक्षमा डा बाबुराम भट्टराई निर्वाचित भएका छन् । अध्यक्षका अर्का प्रत्याशी नेत्र चपाईंलाई पराजित गर्दै भट्टराई अध्यक्षमा निर्वाचित भएका हुन् ।
सोही पार्टीकी नवनिर्वाचित उपाध्यक्ष मानुषी यमि भट्टराईले अध्यक्षमा भट्टराई निर्वाचित भएको जानकारी दिँदै औपचारिक घोषणा साँझ ५ बजेको पत्रकार सम्मेलनबाट गरिने बताइन् ।
नेपाल प्रज्ञा प्रतिष्ठानस्थित सिद्धिचरण हलमा पत्रकार सम्मेलन राखिएको हो । सो पत्रकार सम्मेलनमा प्रथम राष्ट्रिय महाधिवेशनबाट नवनिर्वाचित पदाधिकारी र सदस्यहरूको शपथ ग्रहण कार्यक्रमका साथै भट्टराईले विशेष सम्बोधन समेत गर्ने कार्यक्रम रहेको छ ।
आइतबारदेखि प्रज्ञा भवनमा नयाँ शक्तिको महाधिवेशन सुरु भएर नेतृत्व चयनका लागि निर्वाचन भएको थियो । यसअघि महाधिवेशनको बन्दसत्रबाट भट्टराईले पेस गरेको राजनीति तथा सांगठनिक प्रतिवेदन अनुमोदन भएको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०१ फागुन २०८१, १५ : ४६
लेखकबाट थप