काठमाडौं । सर्वोच्च अदालतको संवैधानिक इजलासमा ५२ संवैधानिक पदाधिकारी नियुक्तिविरुद्धको मुद्दाको सुनुवाइ सुरु भएको छ ।
आजै चिया समयअघि बसेको संव्रधानिक इजलासले कानुन व्यवसायीसँग छलफल गरेको थियो । त्यसपछि प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले चिया समयपछि सुनुवाइ सुरु गर्ने जनाएका थिए ।
चिया समयअघि उनले निवेदकहरूको संख्या, वकालतनामा गर्ने कानुन व्यवसायीहरूको संख्या, बहस गर्ने कानुन व्यवसायीहरूको संख्या र समयबारे जिज्ञासा राखेका थिए। धेरै निवेदन र कानुन व्यवसायीहरू भएपछि सुनुवाइमा व्यवस्थापन गर्न उनले कानुन व्यवसायीलाई अनुरोध गरेका थिए ।
त्यसक्रममा अधिवक्ता ओमप्रकाश अर्यालले आफूहरूले बहस नदोहोर्याउने र संक्षिप्त रूपले भनाइ राख्ने बताएका थिए । प्रधानमन्त्री केपी शर्मा ओलीको अघिल्लो कार्यकालमा प्रतिनिधिसभा विघटन भएका बेला संवैधानिक परिषदसम्बन्धी अध्यादेश जारी गरी संवैधानिक परिषद्ले विभिन्न संवैधानिक निकायमा ५२ पदाधिकारी नियुक्त गरेको थियो ।
त्यसबेला अख्तियार दुरुपयोग अनुसन्धान आयोग, लोक सेवा आयोग, निर्वाचन आयोगलगायतका निकायमा ५२ जना पदाधिकारीहरू नियुक्त भएका थिए । उनीहरूको नियुक्ति बदरको माग गर्दै सर्वोच्च अदालतमा १५ वटा निवेदन दर्ता भएका थिए ।
संविधानमा गरिएको व्यवस्था उल्लंघन हुने गरी अध्यादेश जारी भएको, तत्कालीन सभामुख अग्नि सापकोटालाई जानकारी नगराई संवैधानिक परिषद्को बैठक बसेको र ती पदाधिकारीहरू नियुक्त भएको तथा संसदीय सुनुवाइ पनि नभएको भन्दै कानुन व्यवसायीहरूले नियुक्ति बदर हुनुपर्ने माग राखी रिट निवेदन दर्ता गरेका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ३० माघ २०८१, १६ : २८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
संवैधानिक पदाधिकारी नियुक्ति विरुद्धको रिटमा चियाब्रेकपछि सुनुवाइ