काठमाडौं । प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा आज भएको चिकित्सा शिक्षा आयोगको १७ औँ बैठकले चिकित्सा शिक्षा आयोगमा निजी मेडिकल कलेजमा अध्ययन गर्ने विदेशी विद्यार्थीको सिट संख्या वृद्धि गर्ने प्रस्ताव आएको छ ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुधबार बसेको आयोगको बैठकमा विदेशी विद्यार्थीको संख्या बढाउने प्रस्ताव आएको हो ।
निजी मेडिकल कलेजले आवासीय चिकित्सकलाई सरकारी सरह निर्वाह भत्ता उपलब्ध गराउन नसक्ने जनाएपछि आयोगको यसअघिको निर्णय कार्यान्वयनको सहजीकरणका लागि विदेशी विद्यार्थीको संख्या बढाउने प्रस्ताव आएको हो । हाल मेडिकल कलेजहरूले प्राप्त गर्ने सिटको १० प्रतिशत मात्र विदेशी विद्यार्थी अध्यापन गराउन पाउने प्रबन्ध रहेको छ । त्यसलाई वृद्धि गरी निर्णय कार्यान्वयनको लागि सहजिकरण गर्न खोजिएको आयोका एक सदस्यले बताए ।
यसअघि २५ माघमा बसेको आयोगको १६ औं बैठकले आवासीय चिकित्सक (विद्यार्थी)हरूको आन्दोलनको माग सम्बोधन गर्दै निजी मेडिकल कलेजले सरकारी सरह (आठौँ तह) अनुसार मासिक ४८ हजार ४३६ निर्वाह भत्ता उपलब्ध गर्नुपर्ने निर्णय गरेको थियो । लगत्तै निजी मेडिकल कलेजहरूले सो निर्णय कार्यान्वयन गर्न नसकिने जनाएका थिए।
प्रधानमन्त्रीको नेतृत्व रहने आयोगले चिकित्सा शिक्षाको एकीकृत नियमन, अनुुगमन, प्रवेश परीक्षा सञ्चालन, शिक्षण संस्थाको विद्यार्थी सिट संख्या र शिक्षण शुल्क निर्धारणसम्बन्धी कार्यहरू गर्दै आएको छ ।
आयोगको आजको बैठकले स्नातकोत्तर तहमा २०९ सिट संख्या थप गर्ने निर्णय गरेको छ । यस्तै, नर्सिंङ शिक्षाको अध्ययन अध्यापन तथा क्षमता विस्तारसम्बन्धी कार्यदलको प्रतिवेदनलाई पारित गरेको छ । बैठकमा शैक्षिक संस्था र कार्यक्रम गाभ्ने मापदण्डका विषयमा पनि छलफल भएको थियो ।
बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले सबै विद्यार्थीलाई निःशुल्क पढाउन नसक्ने भएकाले निजी कलेजको पनि साथ लिनु आवश्यक रहेको भन्दै थप गृहकार्य गरेर समस्या समाधान गर्नुपर्ने बताए । उनले नर्सिङ शिक्षालाई सुक्न नदिने ठोस प्रस्ताव ल्याउन र नर्सहरूको सेवा र सुविधा बढाउन आग्रह गरेका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ३० माघ २०८१, १६ : ०६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आवासीय चिकित्सकले गरे चिकित्सा शिक्षा आयोग घेराउ
काम छाडेर सडकमा उत्रिने आवासीय चिकित्सकको चेतावनी
चिकित्सा शिक्षा आयोगको निर्देशक पदमा ४ जनाको नाम सिफारिस
चिकित्सा शिक्षा आयोगको निर्देशक नियुक्ति प्रक्रियाः अन्तरवार्तामा बोलाइयो
दुर्गा प्रसाईँको मेडिकल कलेजलाई सम्बन्धन दिने चिकित्सा शिक्षा आयोगको निर्णय
चिकित्सा शिक्षा आयोगको प्रतिवेदन-२०७४ सार्वजनिक