सोलुखुम्बु । जिल्लाको तिङ्ला क्षेत्रमा निर्माणाधीन ८२ मेगावाट क्षमताको तल्लो सोलुखोला हाइड्रोपावर निर्माणको काम अन्तिम चरणमा पुगेको छ । आयोजनाको भौतिक प्रगति ९५ प्रतिशत भएको छ ।
तल्लोसोलु हाइड्रोपावर कम्पनी लिमिटेडद्वारा प्रवर्द्धित आयोजनाका जेनेरेटर, टर्वाइन जडान, हेडबक्स, पावर हाउस, सुरुङमार्गलगायत संरचना निर्माण भएका छन् ।
कम्पनीका प्रबन्धक धर्मेन्द्र गोतामेका अनुसार आयोजनाको पेनस्टक टनेलको ‘बेक थ्रु’को चरणमा पुगेको छ ।
उनले भने, “आयोजनाको काम अन्तिम चरणमा पुगेको छ । अब पेनस्टक पाइपको मात्र बाँकी छ । आगामी भदौमा व्यावसायिक उत्पादन गर्ने हाम्रो लक्ष्य छ ।”
आयोजनाको प्रसारणलाइन निर्माण कार्य पनि ८० प्रतिशतभन्दा बढी सम्पन्न भइसकेको छ । एफएमओलगायतका युरोपियन बैंक (इन्टरनेसनल फन्डिङ एजेन्सी)को रु १६ अर्ब ऋण लगानीमा सन् २०१६ अगस्तदेखि निर्माण कार्य थालिएको थियो । आयोजना सेप्टेम्बर २०२५ भित्रमा पूरा गर्ने लक्ष्य राखिएको छ ।
सोलुदूधकुण्ड नगरपालिका–७ र ११ को सिमानामा पर्ने साल्मे क्षेत्रको सोलु खोलामा बाँध निर्माण गरी पानी संकलन गरिएको छ । उक्त पानी करिब ६ किलोमिटर टाढाको तिङ्लाको भदौरेस्थित पावर हाउसमा झारिनेछ । यसका लागि पाँच किलोमिटर लामो सुरुङमार्ग निर्माण गरिएको छ ।
भौगोलिक कठिनाइ र लामो सुरुङमार्गका कारण अनुमानित लागतभन्दा अधिक खर्च हुनसक्ने उनको अनुमान छ । हाल आयोजनामा सात सय कामदार कार्यरत छन् । सयजना स्थानीयले रोजगारी पनि पाएका छन् ।
आयोजना सम्पन्न भएपछि हिउँदमा न्यूनतम २३ मेगावाट र वर्षायाममा ८२ मेगावाट विद्युत् उत्पादन हुनेछ राखिएको छ । उत्पादित विद्युत् तिङ्ला सबस्टेसनमार्फत राष्ट्रिय प्रसारणलाइनमा जोडिनेछ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २४ माघ २०८१, ०८ : ४९
लेखकबाट थप