काठमाडौं । सन् २०२४ मा एकपछि अर्को ब्लकबस्टर गीत कम्पोज गरेका गायक सुशान्त केसीले जन्मदिन अवसरमा आइतबार नयाँ गीत ‘झण्डै’ सार्वजनिक गरेका छन् । गीतमा इशान केसीसँग सुशान्तले संगीत दिएका छन् । सुशान्त र राजश्री थापाले अभिनय गरेको गीतमा विछोडको भाव प्रस्तुत गरिएको छ । तपाईंलाई सुशान्तको गायन शैली मनपर्छ भने यो ट्रयाक पनि प्रीतिकर हुनसक्छ ।
गीत सार्वजनिक गर्दै केसीले युट्युवमा लेखेका छन्, ‘तपाईको न्यानो शुभकामनाको लागि धन्यवाद । मार्च ८ मा भक्तपुरको सल्लाघारी मैदानमा सबैलाई भेट्ने आशा गर्दछु । यो पढ्ने जो कोहीको लागि- तपाईं मेरो लागि उपहार हुनुहुन्छ । म तपाईंलाई पनि केही उपहारहरू पठाउन चाहन्थे- ती मध्ये एक यो गीत हो । धेरै माया !’
सन् २०२५ मा सुशान्तको यो पहिलो गीत हो । गीतलाई युटयुव च्यानल र टिकटकमा सार्वजनिक गरिएको छ । यो समाचार लेख्दासम्म स्पोटीफाई र एप्पल म्युजिकमा गीत उपलब्ध भैसकेको छैन ।
गतवर्षको डेटाअनुसार, सुशान्त इन्टरनेट प्लाटफर्ममा सबैभन्दा धेरै सुनिने र हेरिने गायक हुन् । दुई साताअघि आयोजित पत्रकार सम्मेलनमा सुशान्तले भक्तपुर कन्सर्टमा एउटा नयाँ गीत सार्वजनिक गर्ने बताएका थिए । सोही प्रतिबद्धताअनुसार जन्मदिनमा उनले नयाँ गीत ल्याएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २१ माघ २०८१, ११ : ५५
लेखकबाट थप