भ्याली कोल्ड स्टोरका सञ्चालक बाबुराजाको अपहरणका दोषीलाई १२ वर्ष कैद

सफल खबर संवाददाता

मंगलबार, १५ माघ २०८१, १२ : ५८
भ्याली कोल्ड स्टोरका सञ्चालक बाबुराजाको अपहरणका दोषीलाई १२ वर्ष कैद

काठमाडौं । भ्याली कोल्ड स्टोरका सञ्चालक बाबुराजा रावलको अपहरणमा दोषी ठहर भएका दुर्गाबहादुर बुढाथोकीलाई १२ वर्ष कैद सजाय तोकिएको छ ।

सोले र कुमार भनेर चिनिने बुढाथोकीलाई उच्च अदालत पाटनका न्यायाधीश टंकप्रसाद गुरुङ र प्रकाश खरेलको इजलासले दोषी ठहर गर्दै १२ वर्ष कैद सजाय सुनाएको हो। न्यायाधीशद्धयको ७ माघको इजलासले बुढाथोकीलाई अपहरण तथा शरीर बन्धकको कसुरमा दोषी ठहर गरेको थियो । १४ माघमा सजाय निर्धारण भएको हो ।

उच्च अदालत पाटनका सूचना अधिकारी अर्जुनप्रसाद आचार्यले बुढाथोकीलाई अपहरण तथा शरीर बन्धकको कसुरमा दोषी ठहर गर्दै १० वर्ष कैद र थप दुई वर्ष भन्दै १२ वर्ष कैद सजाय सुनाइएको अनलाइनखबरलाई बताए । त्यसैगरी ७० हजार रुपैयाँ जरिवाना समेत सुनाइएको छ ।

यसअघि ५ असोज २०७८ मा बुढाथोकीलाई जिल्ला अदालत काठमाडौंका न्यायाधीश अम्बिकाप्रसाद निरौलाको इजलासले सफाइ दिएको थियो । ‘पक्राउ परेका व्यक्ति दुर्गाबहादुर नै हुन् भन्ने प्रमाण नभएको, उनले आफू भारतीय नागरिक रहेको बताएको, सोही अनुसारको कागजात समेत पेस गरेको र अपहरणमा संलग्न भनिएका व्यक्तिले नै दुर्गाबहादुरलाई नचिन्ने बताएको’ जस्ता आधारहरू देखाउँदै न्यायाधीश निरौलाको इजलासले सफाइ दिएको थियो ।

प्रहरी हिरासतमा हुँदा अपराध स्वीकारेको (साविति बयान) दिएका दुर्गाबहादुर बुढाथोकीले अदालतमा भने भारतको राशन कार्डदेखि जन्मदर्तासम्म पेस गरेर आफू भारतीय नागरिक प्रकाश क्षेत्री भएको बताएका थिए । त्यसबारे अनुसन्धान अधिकृतहरूसँग थप नबुझी र प्रमाण समेत नझिकाइ निरौलाले सफाइ दिएका थिए ।

पर्याप्त प्रमाण हुँदाहुँदै बुढाथोकीलाई सफाइ दिएको भन्दै आलोचना भएको थियो । बुढाथोकीलाई नेपाली नागरिक नै नभएको भन्दै न्यायाधीश निरौलाले निर्दोष रहेको फैसला गरेपछि उनी विवादमा तानिएका थिए । पछि बुढाथोकी नेपाली नागरिक नै भएको भन्दै उनको नागरिकतासमेत प्रहरीले जुटाएको थियो ।

बुढाथोकी नेपाली नागरिक रहेको प्रमाण प्रहरीले जुटाएपछि न्यायाधीश निरौलामाथि न्याय परिषद्ले छानबिन समेत गरेको थियो । १३ फागुन २०८० मा न्याय परिषद्ले निरौलालाई बर्खास्त गरेको थियो ।

अपहरणको १२ वर्षसम्मको मेहनतबाट प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का तत्कालीन डीएसपी अनिल घिमिरेको टोलीले भारतको दार्जेलिङबाट बुढाथोकीलाई १५ पुस २०७७ मा पक्राउ गरेर सार्वजनिक गरेको थियो ।

त्यसपछि बुढाथोकीविरुद्ध थप अनुसन्धान गरेर मुद्दा चलाउन भन्दै सीआईबीले जिल्ला प्रहरी परिसर काठमाडौंको जिम्मा लगाएको थियो । काठमाडौं परिसरबाट मुद्दा चलेका बुढाथोकी निर्दोष ठहर भएर जेलबाट छुटेको भोलिपल्ट मात्रै प्रहरीले थाहा पाएको थियो । त्यसपछि यो प्रकरण बाहिर आएको थियो । बुढाथोकीसहितको समूहले १ पुस २०६५ मा बाबुराजको अपहरण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस