काठमाडौं । नेकपा एमालेले मंगलबारका लागि संसदीय दलको बैठक बोलाएको छ । मुख्य सचेतक महेश बर्तौलाले १५ माघको दिउँसो १ बजे संसदीय दलको बैठक बस्ने जानकारी दिए ।
बर्तौलाका अनुसार संघीय संसद् अधिवेशन अधिवेशन सुरु हुनअघि तयारीका लागि दलको बैठक बस्न लागेको हो । १८ माघबाट संसद् अधिवेशन सुरु हुँदैछ । सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले अधिवेशन आह्वान गरिसकेका छन् ।
संसद् छलेर सरकारले अध्यादेशबाट शासन गर्न खोजेको भन्दै विपक्षी दलहरूले मोर्चाबन्दी गरेकाले दलको बैठकमा विधेयकमै केन्द्रित भएर एमालेले छलफल चलाउन लागेको छ ।
दलको बैठकमा आउँदो अधिवेशनमा सरकारले प्रस्तुत गर्ने नयाँ विधेयकहरू तथा पहिले नै संसद्मा आइसकेका र विभिन्न समितिमा छलफलमा रहेका विधेयकमाथि पनि बैठकमा छलफल हुने मुख्य सचेतक बर्तौलाले बताए ।
संसद् भवन नयाँबानेश्वरस्थित लोत्से हलमा बस्ने बैठकलाई संसदीय दलका नेता एवं प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्नेछन् ।यसैबीच, मुख्य सचेतक बर्तौलाले संसद् अधिवेशनको पहिलो दिन सदनलाई प्रधानमन्त्रीले सम्बोधन गर्ने जानकारी दिएका छन् ।
आजै प्रधानमन्त्रीलाई भेटेका बर्तौलाले सो सन्देश सभामुख देवराज घिमिरेलाई अवगत गराएको जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १३ माघ २०८१, १३ : ५६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लुम्बिनीमा एमाले संसदीय दलको आचारसंहिता : सस्तो लोकप्रियता आर्जन गर्ने प्रवृत्तिको अन्त्य हुने विश्वास
एमाले संसदीय दलको बैठक बस्दै
एमाले संसदीय दलको बैठक बस्दै