बुटवल। नेकपा एमाले लुम्बिनी प्रदेशसभा संसदीय दलले प्रदेशसभा सदस्यहरूलाई आचारसंहिता लागू गरेको छ । एमाले प्रदेशसभा संसदीय दलको मंगलबार देउखुरीमा बसेको बैठकले प्रदेशसभा सदस्यहरूलाई आचारसंहिता लागू गर्ने निर्णय गरेको हो ।
एमाले प्रदेशसभाको विधान २०७५ बमोजिम प्रदेशसभा संसदीय दलको कार्य प्रणालीलाई अनुशासित र व्यवस्थित गर्न आचारसंहिता जारी गरिएको दल उपनेता भोजप्रसाद श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार एमाले संसदीय दलका नेता तथा मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा बसेको बैठकले आचारसंहिता लागू गर्ने निर्णय गरेको हो ।‘नयाँ ढंगले काम गर्दा आफैं इमानदार हुनुपर्छ । नैतिक आचरणलाई सिद्धान्तको रूपमा लिएको छ ।
मानवता र मानव अधिकारमा स्पष्ट हुनुपर्छ,’ उनले भने, ‘प्रदेश सरकारले मुख्यमन्त्री र मन्त्रीहरूलाई आचारसंहिता लागू गरिसकेको छ । यो अवस्थामा प्रदेशसभा संसदीय दलले प्रदेशसभा सदस्यहरूलाई पनि आचारसंहिता लागू गरेर जवाफदेहितालाई प्राथमिकतामा राखिएको छ ।’
सस्तो लोकप्रियता आर्जन गर्ने कार्यमा लाग्ने प्रवृत्तिको अन्त्य हुने संसदीय दलको विश्वास छ । अनधिकृत आर्थिक प्रलोभन तथा भ्रष्टाचारजस्ता कृयाकलापबाट मुक्त हुन आचारसंहितामा प्रमुखताका साथ समावेश गरिएको उपनेता श्रेष्ठले बताए ।
सबै तहका जनप्रतिनिधिको क्षेत्रगत कामसँग बाझिने खालका कुनै पनि उपभोक्ता समिति, सरकारी तथा गैरसरकारी र वित्तीय संस्थाका मुख्य कार्यकारी पदमा रही भूमिका निर्वाह गर्न नपाइने, जिम्मेवारीमा भएको भए अलग हुन आचारसंहिताले निर्देशित गरेको छ ।
लैङ्गिक यौनजन्य विभेद तथा अशिष्ट अभिव्यक्ति जस्ता दुर्व्यवहार गर्न नपाइने, नैतिक आचरण, असल शासनका हरेक पक्षमा जिम्मेवार, पारदर्शी र कुशल जनप्रतिनिधिको रुपमा स्थापित हुनुपर्ने, उच्छृङ्खल र अराजक गतिविधि एवं सामाजिक सञ्जालमा पार्टी नीतिविपरीत क्रियाकलाप गर्न नहुने उल्लेख गरिएको छ ।
प्रदेशसभाको नियमित बैठक तथा तोकिएको संसदीय समिति तथा उपसमितिका बैठकहरूमा अनिवार्य उपस्थित रहनुपर्ने, प्रदेशसभा संसदीय समितिहरूका कार्यसूची माथि भएका छलफल, बहसहरूमा भएका निष्कर्ष, निर्णयहरू दलको कार्यालयमा जानकारी दिनुपर्नेछ ।
यस्तै, वर्तमान संयुक्त सरकारले सबै दलहरूप्रति समन्वय र सहकार्यको नेतृत्व गर्दै नियमित रूपमा साप्ताहिक र मासिक कार्यप्रगति प्रतिवेदन हरेक जिम्मेवार पदाधिकारी, सदस्यहरू तथा मन्त्रीहरूले सम्बन्धित सरोकारवाला निकायमा बुझाउनुपर्ने, प्रदेश सरकार, मन्त्री परिषद्को काम, कर्तव्य अधिकार र प्रदेशसभा वा प्रदेशसभा दलप्रतिको जवाफदेहिताको पूर्ण पालना गर्नुपर्ने, प्रदेशसभामा उठेका विषय र प्रश्नोत्तरका सन्दर्भमा विषयगत मन्त्रालय तथा सरकारको जवाफदेहिता, पालना प्रदेशसभा नियमावली बमोजिम कार्यान्वयन गरेको हुनुपर्नेछ ।
यस्तै, तोकिएको परिभाषित तथा प्रशासनिक कार्यभारप्रति अनुत्तरदायी भई झिना मसिना कार्यमा संलग्न हुने तथा यि आचारसंहिताप्रति सबै प्रदेशसभा सदस्य, पदाधिकारी र मन्त्रीहरू प्रतिबद्ध हुनुपर्ने जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०१ असोज २०८१, १५ : २८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमाले संसदीय दलको बैठक बस्दै
एमाले संसदीय दलको बैठक बस्दै