इंग्लिस प्रिमियर लिग : युनाइटेड र टोटेनह्याम पराजित

एजेन्सी

सोमबार, ०७ माघ २०८१, ०९ : ४७
इंग्लिस प्रिमियर लिग : युनाइटेड र टोटेनह्याम पराजित

एजेन्सी । इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीले इप्सविच टाउनमाथि ६-० को जित निकाल्दै शीर्ष चारमा उक्लिएको छ।

आइतबार रातिनै भएका अन्य खेलमा म्यानचेस्टर युनाइटेड र टोटेनह्याम हट्सपुर भने आ-आफ्नो खेलमा पराजित भए।

ब्रेन्टफोर्डसँग अघिल्लो खेलमा २ गोलको अग्रता जोगाउन नसक्दा बराबरी खेलेको सिटीले इप्सिविचविरुद्ध भने आफ्नो पुरानो लय समाउन पुग्यो। सिटीको जितमा फिल फोडेनले २ गोल गर्दा माटेओ कोभासिस, जेर्मी डोकु, अर्लीङ हालान्ड र जेम्स म्याकएटीले समान १-१ गोल गरेका थिए।

जितपछि सिटी अङ्क तालिकामा २२ खेलबाट ३८ अङक बनाएर चौथो स्थानमा उक्लियो। समान अङ्क भएपनि न्युक्यासल पाँचौं स्थानमा रहँदा एक खेल कम खेलेको चेल्सी ३७ अङ्कका साथ छैटौं स्थानमा रहेको छ।

त्यस्तै, आइतबारनै भएको अर्को खेलमा टोटेनह्याम एभर्टनसँग ३-२ ले पराजित भयो। पहिलो हाफमै ३ गोल गरेको एभर्टन विरुद्ध दोस्रो हाफमा टोटेनह्यामले २ गोल गरेपनि हार टार्न पर्याप्त रहेन।

त्यस्तै, अर्को खेलमा म्यानचेस्टर युनाइटेड ब्राइटनसँग ३ गोल खान पुग्यो। पाँचौ मिनेटमा मिन्थेको गोलमा अग्रता बनाएको ब्राइटनविरुद्ध ब्रुनो फर्नान्डेसले २३ औं मिनेटमा पेनाल्टीमार्फत बराबरी गोल गर्‍यो। तर दोस्रो हाफमा ब्राइटनले थप दुई गोल थप्दा युनाइटेड स्तब्ध बनेको थियो।

प्रिमियर लिगकै अन्य खेलमा नोटिङ्घम फरेस्टले साउथहेम्टनलाई ३-२ ले पराजित गर्न सफल भयो।

प्रतिक्रिया दिनुहोस